• २२ पुस २०८१, सोमबार

जनप्रतिनिधि र कर्मचारी पनि विदेशतिर

blog

तम्घास समाचारदाता

तम्घास, कात्तिक १० गते । पछिल्लो समयमा देशमा रोजगार नभएको भन्दै विदेश जानेको लर्को लाग्ने गरेको छ तर गुल्मीमा जनप्रतिनिधि र सरकारी जागिर खाएकै व्यक्तिहरू रोजगारीकै लागि विदेश जाने गरेको पाइएको छ । 

२०७४ सालमा रेसुङ्गा नगरपालिका–७ मा एमालेबाट वडाध्यक्ष निर्वाचित मोहनप्रसाद पाण्डे कार्यकाल सकिएपछि परिवारसहित बेलायत पस्नुभयो । रेसुङ्गा नगरपालिका कृषि शाखा अधिकृत विजय गौतम अस्ट्रेलिया, कृषि शाखा प्राविधिक शेखर घिमिरे स्विडेन, मालिका गाउँपालिकाका कृषि अधिकृत यमुना अधिकारी अस्ट्रेलिया, सबइन्जिनियर विधान आचार्य फिनल्यान्ड तथा इन्जिनियर माधव पन्थी रोजगारीकै लागि जापान जानुभयो । त्यसै गरी चन्द्रकोट गाउँपालिकाका हेल्थ असिस्टेन्ट अनिल पौडेल, लोक सेवा पास गरी आउनुभएका अहेव शेषराज खत्री, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीका स्वकीयसचिवको काम गर्दै आउनुभएका जिससका कम्प्युटर अपरेटर रोशनसिंह ठकुरी पनि जापान जानुभयो । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा जिल्लाबाट एक सय जनाभन्दा बढी सरकारी जागिरेले देश छाडेका छन् ।

राज्यको व्यवस्था, देशको नेतृत्वप्रति विश्वासमा आएको कमीका कारण पनि वैदेशिक रोजगारीमा जाने गरेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो । यहाँका राजनीतिक दलहरूले युवालाई निर्वाचनमा प्रयोग मात्रै गर्ने र उनीहरूलाई दीर्घकालीन रूपमा देशमा टिक्ने वातावरण नबनाएका कारणले पनि समस्या आउने गरेको उहाँको भनाइ छ । देशमा भविष्य नदेख्ने र क्षणिक रूपमा हुने रोजगारीबाट परिवार चलाउनसमेत समस्या आउने देखेका कारण वैदेशिक रोजगारीमा जाने गरेको उहाँले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विदेशमा पैसा फल्छ भन्ने भ्रम रहेकाले पनि वैदेशिक रोजगारीमा जाने लहर चलेको बताउनुभयो । आफूहरूले युवालाई स्वदेशमा नै रोजगार बनाउने गरी योजना बनाए पनि त्यसलाई बुझाउन र कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभयो ।  

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा जिल्लाबाट सात हजार चार सय नौ जनाले राहदानी बनाए । आर्थिक वर्ष २०७९/८० मा उक्त सङ्ख्या दोब्बरले बढेर १५ हजार ८६ जनाले राहदानी बनाए ।