• १२ कात्तिक २०८१, सोमबार

सिँचाइ योजना उपभोक्तालाई हस्तान्तरण

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक ९ गते । गुल्मीको हुग्दीखोला तुराङ्ग सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएसँगै स्थानीय उपभोक्ताहलाई हस्तान्तरण गरिएको छ । चन्द्रकोट गाउँपालिका–८ स्थित यस सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएसँगै यहाँका उपभोक्ताहरु अत्यन्तै खुसी देखिएका छन् । 

लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरी, सचिव मिनराज ढकाल, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरत प्रसाद सापकोटा लगायतको उपस्थितीमा उपभोक्ता समिति अध्यक्ष लेखनाथ पोखरेललाई योजना हस्तान्तरण गरिएको हो । 

यहाँ रहेका फाँटहरुमा सिँचाइ गर्नका लागि विगतमा किसानहरुले निकै दुःखका साथ अस्थायी कुलो निर्माण गरेर पालो कुर्दै सिँचाइ गर्दै आएका थिए । तत्कालिन जिविसमा रहेको गार्डेप परियोजना र यहाँका स्थानीय उपभोक्ताबीच संयुक्त लगानीमा माइक्रो–हाइड्रो निर्माण गर्ने उदेश्यले कुलो निर्माण गरिएसँगै सिँचाइमा केहि सहयोग भएको स्थानीय उपभोक्ता रमेश भण्डारीले बताउनुभयो । 

त्यतिबेला दिउँसो खेतमा सिँचाइ गर्ने रातमा माइक्रो–हाइड्रोमार्फत विद्युत उत्पादन गरिएको थियो । हालको यस सिँचाइ योजना निर्माणका लागि यहाँका अगुवासँगै उपभोक्ताबाट निकै पहल भएको थियो । विगतको तुलनामा अहिले खेतमा सिँचाइ गर्न निकै सजिलो भएको भण्डारीले बताउनुभयो । सिँचाइका लागि प्रशस्त पानी पुग्नुका साथै रातको समयमा यसैबाट २५ किलोवाट विद्युत समेत उत्पादन गरिएको छ । 

विद्युतबाट दुई विद्यालय, पाँच मन्दिर, तीन कुटानी–पिसानी मिल, दुई फर्निचर समेत सञ्चालन गरिएको छ । २६५ घरधुरी विद्युतबाट प्रत्यक्ष लाभान्वित भएका छन् । यस सिँचाइ योजनालाई पूर्ण रुपमा सञ्चालन गर्न सकिएमा रातदिन विद्युत उत्पादनसँगै खेतमा सिँचाइ गर्न सकिने यहाँका स्थानीयले बताएका छन् । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीले दुई करोड ४३ लाख तीन हजार ३३ रुपियाँको लागतमा सो सिँचाइ योजना निर्माण गरेको हो । जसमा ११ लाख रुपियाँ बराबरको श्रमदान भएको छ । सिँचाइका लागि २८९४ मिटर लम्बाई भएको मूल नहर लाइनिङ्ग निर्माण गरिएको कार्यालय प्रमुख भरत प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइ मुहान एक, डिसेल्टीङ्ग बेसिन एक, भिआरबी तीन र ड्रप (फल) ११ वटा निर्माण गरिएको छ । २०७९ वैशाख ८ गते यस सिँचाइ योजनाका संरचनाहरु निर्माण गर्नका लागि कार्यालय, निर्माण व्यवसायी बावुल पन्थ जे.भी. र उपभोक्ता समितिबीच समझौता भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ देखि काम सुरु भएर आर्थिक वर्ष २०८०-०८१ मा सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गरिएको हो । 

सिँचाइ योजनाले कूल १०० हेक्टर क्षेत्रफल जमिन ओगटेको छ । जसमा सिँचाइ योग्य जमिन ८५ हेक्टर क्षेत्रफल छ । यस योजनाबाट १४४ लाभान्वित घरधुरी छन् । योजनालाई व्यवस्थित रुपमा सञ्चालन तथा मर्मत सम्भार कृषकहरुले गर्नुपर्ने भन्दै आवश्यकताका आधारमा प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम कार्यालयले उपलब्ध गराउने सापकोटाले बताउनुभयो ।