• १५ कात्तिक २०८१, बिहिबार

पर्यटक आकर्षित गर्दै मुस्ताङको ढुम्बा ताल (फोटो फिचर)

blog

ढुम्बा तालको अवलोकनमा पुगेका पर्यटक र सुन्दर तालको दृश्य । तस्बिर : ठाकुरप्रसाद आचार्य


ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ९ गते ।
यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ । आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ ।मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ । वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन् । घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल जोमसोमबजारबाट १५ मिनेटको दूरीमा पर्दछ ।

ताल वरपर भौतिक पूर्वाधार निर्माण गरिएको छ भने पर्यटकको सुविधाका लागि रेष्टुरेन्ट सञ्चालन गरिएको छ । निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर टिकटक बनाउने, फोटो र भिडियो खिच्ने गर्दछन् । ढुम्बा ताल प्राकृतिक सुन्दरताको खानी रहेको ताल अवलोकनका लागि पुग्नुभएका पर्वतका प्रमोदराज रेग्मीले बताउनुभयो ।


उपल्लो मुस्ताङ, कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेको घरपझोङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप थकालीले बताउनुभयो । जोमसोम देखि ठिनी हुँदै ढुम्बा ताल पुग्ने सडक विस्तार र तालवरपर पर्यटन पूर्वाधार निर्माण गरिएकाले पछिल्ला केही वर्षयता तालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो ।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ एक सय ६० मिटर र चौडाइ एकसय ३० मिटर छ । १० मिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ ।