• १० मंसिर २०८१, सोमबार

आकर्षक गन्तव्य न्याउली झरना

blog

सुलीकोट समाचारदाता

सुलीकोट, कात्तिक ९ गते  । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको लापुबेँसीस्थित न्याउली झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । उत्तरी गोरखाको लार्केपासदेखि मनासलु हिमालसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटक न्याउली झरना भएर जाने गरेकाले पनि आकर्षणको केन्द्र बनेको हो । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले यो झरना प्राचीनकालदेखि नै अटुट रूपमा बगेको जानकारी दिनुभयो । झरनाले पर्यटकलाई आकर्षित गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले सामाजिक सञ्जालले गर्दा पनि झरनाको प्रचारप्रसार भएकाले गोरखा सदरमुकाम घुम्न आउने पर्यटक एक पटक न्याउली झरनामा पुगेर आउने गरेका छन् । करिब पाँच सय मिटरमाथि जङ्गलको बिचबाट झरेको झरनामा पर्यटकको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो । 

धार्चे गाउँपालिकाले पर्यटकीय क्षेत्रलाई पहिचान गरी नीति तथा कार्यक्रममा समटेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारेको छ । पालिकाको आफ्नो बजेटले मात्र व्यवस्थापन गर्न नसकिने भएकाले सङ्घीय सरकार र प्रदेश सरकारसमक्ष थप बजेटको पहल भइरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । न्याउली झरनालाई थप व्यवस्थित बनाउन गाउँपालिकाको थोरै बजेटमा फलामको बार लगाउने काम मात्र भएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “अहिले यस झरनामा फोटो खिच्ने, भिडियो र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हामी यसलाई थप व्यवस्थित बनाउन लागेका छौँ ।”

शुक्रबार र शनिबार सयौँको सङ्ख्यामा न्याउली झरना हेर्न पर्यटक पुग्ने गरेका छन् ।  न्याउलीखोला झोलुङ्गे पुलबाट यस झरनाको दृश्यावलोकन गरी आन्नद लिन सकिने हुँदा पर्यटक पुलमा जाने गरेको पालुङटार नगरपालिका–१, खोप्लाङका गोविन्द श्रेष्ठले बताउनुभयो । न्याउली झरनामा सिँढीसहित दुईपट्टि रेलिङ हालेर झरनाको मुख्य भागसम्म पुग्न सकिने मार्ग रहेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो ।