• १७ फागुन २०८१, शनिबार

उजाड भूमि बन्यो हराभरा : छाडेको गाउँमै फर्किए पचास परिवार

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, फागुन १७ गते ।

भाग्य लहरमा लहरी–लहरी

पुगेँ म यस मरुस्थलमा कसरी

तर खेद छैन तिम्रो आकृति

लेखिएको छ यो हृदयभरि !

मेरो प्यारो ओखलढुङ्गा !

युगकवि सिद्धिचरण श्रेष्ठले कवितामार्फत भने झैँ ‘मरुस्थल’ जाने अनि प्राकृतिक आकृति खण्डहर जस्तो हुने परिणति उहाँको ‘प्यारो ओखलढुङ्गा’ ले भोगिरहेको छ । वैदेशिक रोजगारी, निजामती सेवा र सहरी क्षेत्रको आकर्षणले गाउँ रित्तै भए । 

तर ‘जन्म दिने आमा र जन्मिएको माटो कहिल्यै नभुल्नू’ भन्ने उद्गारलाई चरितार्थ गर्दै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ को चुहानछापका ५० घरपरिवार एकैसाथ गाउँ फर्किएका छन् । कृषि उद्यममार्फत आर्थिक रूपान्तरणको नवीन सङ्कल्प बोकेर गाउँ फर्किएका नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँबासी चुहानछापलाई हराभरा बनाउन जुटेका हुन् ।

रोजगारी, अध्ययन र व्यापार व्यवसाय गर्ने उद्देश्य बोकेर २०६० सालदेखि स्थानीयवासीले गाउँ छाड्न थाले । काठमाडौँसहित विभिन्न सहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि पुग्यो । समग्रमा, गाउँ रित्तिँदै गयो । चुहानछापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बने ।

‘गाउँ फर्क’ अभियानको परिणाम

३० वर्षअघि ओखलढुङ्गाको चुहानछाप गाउँ हरियाली हराभरा थियो । खेतीयोग्य उर्वर जमिनमा स्थानीयले मानो रोपेर मुरी उब्जाउँथे । १५० घरपरिवारले पशुपालनबाट पनि मनग्गे आम्दानी गर्थे । साविक ठुलाछाप गाउँ विकास समितिको चुहानछापमा अधिकांश सुतार कार्कीको रजगज थियो ।

हराभरा गाउँ उजाड हुँदै गयो, उर्वर जमिन बाँझिए । गाउँको स्वरूपै बदलिएर जङ्गलले ढाक्यो तर रोजगारी, अध्ययन आदिका लागि गाउँ छाडेका युवा उमेर ढल्किँदै गएपछि ‘गाउँ फर्क’ अभियान चलाएर आफ्नो जन्मथलो फर्किए । सरकारी जागिरबाट सेवानिवृत्त भूपेन्द्र कार्कीका अनुसार सुन्दर गाउँ उजाड बनेपछि बसाइँ हिँडेकाहरूसँग पटक पटक संवाद गरेर गाउँ फर्किने अभियान सञ्चालन गरिएको हो । उहाँको घर काठमाडौँमा पनि छ तर उहाँले गाउँ फर्किएर आफ्नै संयोजनमा ‘गाउँ फर्क’ अभियान चलाउनुभएको छ । 

काठमाडौँ, ललितपुर, भक्तपुर, धरान, इटहरी, विराटनगरसहित सहरमा गएर बसेका ५० परिवार गाउँ फर्किएका छन् । उहाँका अनुसार अरू घरपरिवारलाई पनि फर्काउने तयारी भइरहेको छ । कार्कीकै नेतृत्वमा कालिकादेवी बहुउद्देश्यीय कृषि तथा पशुपालन कृषक समूह गठन गरेर पशुपालनका लागि फार्म, तरकारी खेतीका लागि टनेल निर्माण, बाख्रापालन, फलफूल खेतीलगायतको कामको थालनी गरिएको छ । 

सुरुमा ४० वटा राँगापालन गर्न भेटेरिनरी तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाको समन्वयमा धमाधम गोठ निर्माणको काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले सिँचाइको व्यवस्थापन गर्न पानीको स्रोत भएको खेत खरिद गरिएको बताउनुभयो । 

कृषि उद्यम थाल्दै 

कृषि ज्ञानकेन्द्र साथै अन्य कार्यालयको समन्वयमा तरकारी खेतीका लागि पाँच वटा टनेल निर्माणको काम सुरु गरिएको छ । स्थानीय पदमबहादुर कार्कीका अनुसार रोजगारी खोज्दै सहर तथा बिदेसिएका युवालाई गाउँ फर्काएर उजाड भूमि हराभरा बनाउन थालिएको छ । उहाँले दक्ष युवा जनशक्तिलाई गाउँमै अवसर सिर्जना गरी स्वरोजगार बनाउने अभियानका साथ काम भइरहेको बताउनुभयो । उहाँले युवालाई व्यावसायिक पशुपालन, तरकारी खेती, माछापालन, बेसार, अदुवा खेतीलगायतको काम गर्न प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग बजेट लिएर काम अघि बढाउने प्रयत्न भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमै उद्यम गर्ने उद्देश्यले गाउँ फर्किएका हौँ । सरकारले सहयोग र प्रोत्साहन गरे यहाँबाटै लाखौँ कमाउने बाटो खुल्छ । युवाले रोजगारी पाउँछन् ।”

सिद्धिचरण नगरपालिका–२ का वडाध्यक्ष वसन्त कटुवालले गाउँ फर्केर आएकालाई विशेष अभियान र कार्यव्रmम सञ्चालन गरेर सहयोग गरिने बताउनुभयो । उहाँले खानेपानी, सडक, व्यवसाय सञ्चालन गर्न आवश्यक भौतिक सामग्री र राज्यबाट व्यवस्था गर्न सकिने जति सहयोग गरिने बताउनुभयो । उहाँले चुहानछापका ९८ परिवार गाउँ छाडेर गएकोमा ५० परिवार फर्किएको र अरू पनि फर्किने क्रममा रहेको बताउनुभयो । 

वडा कार्यालयले केही परिवारले बसाइँसराइ गरेरै फर्किएको जनाएको छ । नेपाल सरकारको कर्मचारी सेना, प्रहरी, शिक्षकलगायत वैदेशिक रोजगारी साथै अन्य रोजगारी, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा अधिकांश स्थानीय पलायन भएका थिए । करिब चार वर्षदेखि ‘गाउँ फर्क’ अभियान सञ्चालन भइरहेको छ ।