• १७ फागुन २०८१, शनिबार

हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध

blog

मुगुुको घुच्चीलेकमा भारी हिमपातपछि हिँड्दै सदरमुकाम गमगढीतर्फ जाँदै यात्रु । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, फागुन १७ गते ।
हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो । उहाँका अनुसार घुच्चीदेखि  वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ ।

हिमपातले अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको  हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिनुभयो । आज दिउँसो २ बजे भित्र हिउँ पन्छाउने लक्ष्य राखेको उहाँको भनाइ छ । तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘व्यवसायी र यात्रुलाई धैर्यका साथ सुरक्षित बस्न आग्रह गर्छु ।’’