राधाकृष्ण डुम्रे
वालिङ, फागुन १७ गते । स्याङ्जाको वालिङमा सञ्चालन हुन लागेको ‘प्रथम पिङ्क सिटी महोत्सव वालिङ—२०८१’ लाई अपाङ्गमैत्री बनाइने भएको छ । यही फागुन २१ देखि चैत ३ गतेसम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवलाई फरकशैलीबाट सञ्चालन गर्न लागिएको हो ।
चेम्बर अफ कमर्श वालिङको आयोजनामा हुन लागेको महोत्सवलाई अपाङ्गमैत्री बनाइने अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो । ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई स्थानीय उत्पादनको बजारीकरणमा केन्द्रित गर्न खोजिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
महोत्सव स्थल वालिङ खेलमैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले स्थानीय कृषि प्रदर्शनी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक वृहत अन्तरक्रिया, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रदर्शनी, पालिका स्तरीय भलिबल प्रतियोगिता लगायत गराइने जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । महोत्सवले वालिङ पिङ्क सिटीको रुपमा विकसित भइरहेको भन्ने सन्देश समेत प्रवाह गर्ने उद्देश्य राखेको चेम्बर अफ कमर्सका महासचिव गणेश राउतले बताउनुभयो । महोत्सवका लागि स्टल निर्माण तथा बुकिङको काम पनि भइरहेको उहाँको भनाइ छ । महोत्सव दुई सय ५० भन्दा धेरै स्टल रहने राउतले जानकारी दिनुभयो ।
महोत्सवमा शैक्षिक प्रदर्शनी तथा वृहत काव्य गोष्ठी जस्ता फरक कार्यक्रम समेत रहेको चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मणि प्रसाद पंगेनीले बताउनुभयो ।
दुई सय ५० स्टल रहने महोत्सवमा पाँच करोडको कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाखभन्दा बढीले महोत्सबको अवलोकन गर्ने अनुमान अयोजकले गरेको छ ।