• १७ फागुन २०८१, शनिबार

महाकुम्भले जोड्दै नेपालको पर्यटन

blog

भारतका चार फरक नदी किनारका हरिद्वार, नासिक, उज्जैन र प्रयागराज सहरमा प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भ मेला सम्पन्न भएको छ । १४४ वर्षमा वृहस्पति, सूर्य र चन्द्रमासँग मिलेर बनेको दुर्लभ आकाशीय योगले यो महाकुम्भलाई विशेष बनाएको प्रचार गरिएको थियो । यस पटकको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढीले स्नान गरेका बताइएको छ । चार हजार हेक्टर क्षेत्रफलमा फैलिएको मेलास्थलवरपर तीर्थालुका लागि एक लाख ६० हजार अस्थायी आवास बनाइएको थियो । अस्थायी शौचालय मात्रै एक लाख ४५ हजार वटा निर्माण गरिएको थियो । 

वनारसदेखि १२२ किलोमिटर परको प्रयागराजमा महाकुम्भ सुरु भएयता भक्तजनको भिडभाड, सन्त, महन्त, जोगीको जमघटले एउटा ऐतिहासिक घटनाका रूपमा स्मरण गराइरहने पर्यटक प्रहरी अविनाश क्षेत्री बताउनुहुन्छ । “महाकुम्भले काशी विश्वनाथमा दर्शनार्थीको भिड बनाइदिएको थियो,” भारत देहरादुनका क्षेत्रीले स्पष्ट नेपाली लवजमा भन्नुभयो, “तर सधैँ यस्तो हुँदैन ।”  क्षेत्रीका अनुसार मन्दिरपरिसरमा दैनिक जसो दर्शनार्थीको लाम दुई किलोमिटरभन्दा बढीको हुने गथ्र्यो । बिहानै लाइन बसेका कतिपयको पालो दिउँसो अथवा साँझ मात्रै आउने अवस्था थियो । उस्तै दृश्य छ, अयोध्यास्थित राममन्दिर आसपासको । निर्माणाधीन उक्त मन्दिरको दायाँतर्फ कालिगडहरू सिङ्गमर्मरमा भगवान्का विभिन्न आकृति कुँदिरहेका थिए । बिचमा रहेको मूल मन्दिरको सिँढीबाट हजारौँ दर्शनार्थी व्यग्रतासाथ भगवान् रामको मूर्ति दर्शनका लागि हतार हतार उकालो लागिरहेका थिए । घण्टौँ लामबद्ध दर्शनार्थी मूर्तिको एक क्षण दर्शनपछि खुसी र आँसुसहित फर्किरहेका हुन्थे । लामबद्ध हुन नसक्नेहरू मन्दिरपरिसर बाहिरैबाट हात जोडेर फर्किएका दृश्य रोचक देखिन्थ्यो ।  

अयोध्याको यो भिडभाड पनि प्रयागराज महाकुम्भकै कारक हो । दर्शनार्थीको सहजताका लागि मन्दिरनजिकै बनाइएको टेन्ट सिटी पनि उत्तिकै भरिभराउ थियो ।  महाकुम्भस्थल प्रयागराजको दृश्य नै बेग्लै । सहरको मुख्य सडक हुँदै महाकुम्भस्थलसम्म हर क्षण मानव सागर उर्लिरहेको देखिन्थ्यो । काँधमा बच्चा बोकेर हिँडेका परिवारदेखि हिँड्नै नसक्ने वयोवृद्धहरू ह्विलचेयरको सहायतामा घाटसम्म स्नानका लागि उत्तिकै व्यग्रताका साथ अघि बढिरहेका भेटिन्थे ।  उर्लंदो मानवसागरले ट्राफिक अस्तव्यस्त थियो । सहरको मुख्य चोकदेखि बढीमा चार किलोमिटर पार गर्न चार घण्टा लाग्नु सामान्य जस्तै थियो । ट्राफिक बढी हुँदा यो समय अझ कम नै हुन पुग्छ । अझ समय समयमा विशिष्ट व्यक्तिको आगमनले यहाँको ट्राफिक समय अनुमानभन्दा परकै कुरा थियो । 

महाकुम्भ सुरु भएयता प्रयागराजका हरेक कुना मानवमय बनेको थियो । सहरभर बिछ्याइएका चहकिला बत्तीको उज्यालोले प्रयागराजलाई रातमा थप गुल्जार बनाइदिएको रोचक दृश्य देखिन्थ्यो ।  प्रयागराज सहरबाट अब पुगौँ घाटतिर, जहाँ १४४ वर्षपछि लागेको महाकुम्भमा स्नान गर्नेको महाभेला देख्न सकिन्थ्यो । घाटतिर सोझिएका मानिसको पाइला हेर्दा लाग्थ्यो, भारतका सबै जनता यतैतिर आइरहेका छन् । गङ्गा, यमुना र अदृश्य सरस्वती नदीसहित तीन नदीको सङ्गमस्थलका कारण प्रयागराज सहरको यो कुनो अरू बेला पनि उत्तिकै पवित्र मानिन्छ । तीन नदीको सङ्गमस्थललाई सङ्गम घाट (नोज) नाम दिइएको छ । यसबाहेक अन्य सात वटा घाट छन् यहाँ । तीमध्ये पनि पाँच वटा घाट बढी रोजाइका । दर्शनार्थी आफूलाई पायक पर्ने घाटनजिकै डुबुल्की मार्न लालायित देखिन्थे ।  स्नानका लागि नदीकिनारमा प्लास्टिकका ड्रमसहितको बाँध बनाइएको थियो । त्यही बाँधमा दर्शनार्थीको भेल उर्लिन्थ्यो, अनि लगाउँथे डुबुल्की । महाकुम्भको प्रमुख आकर्षण नै नदीमा लगाइने डुबुल्की हो; जसलाई अङ्गे्रजी नाम दिइएको थियो, ‘होली डिप’ अर्थात् पवित्र स्नान । प्रयागराजमा यसलाई अमृत स्नान भनेर चर्चित बनाइएको थियो । त्यही डुबुल्कीका लागि सयौँ माइल दुरी पार गरेर महाकुम्भको यात्रामा दर्शनार्थी निस्किएका भेटिन्थे । 

धार्मिक पर्यटनको सङ्गम

१४४ वर्षमा एक पटक आउने अवसरका रूपमा महाकुम्भ स्नानलाई भव्य प्रचार गरिएको थियो । यही दुर्लभ अवसरलाई सदुपयोग गर्ने लालसाले हिन्दु धर्मावलम्बी एक महिनादेखि प्रयागराजसम्मको यात्रा तय गरिरहेका थिए । धार्मिक आस्थाको यस्तो लहरले भारत मात्रै होइन, नेपालसहित विश्वका धेरै देशबाट दर्शनार्थी उर्लिएका थिए । दर्शनार्थीको उर्लंदो भेलले विश्वकै सबैभन्दा ठुलो धार्मिक मेलाका रूपमा महाकुम्भलाई स्थापित गरिदिएको छ । 

धार्मिक पर्यटनको सबैभन्दा ठुलो उदाहरण पनि मान्न सकिन्छ महाकुम्भलाई । महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवका अनुसार ४० करोड धार्मिक पर्यटक प्रयागराज भित्रने अनुमान गरिएकोमा त्यो सङ्ख्या नाघिसकेको छ । महाकुम्भको अन्तिम दिन फागुन १४ अर्थात् शिवरात्रिसम्म दर्शनार्थीको सङ्ख्या ६६ करोड नाघेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

प्रयागराजको व्यस्तताले पनि त्यस्तै देखाउँछ । महाकुम्भका लागि मात्रै उत्तरप्रदेश सरकारले ७० अर्ब भारतीय रुपियाँभन्दा बढी खर्च गरेको थियो । प्रयागराज विमानस्थलले स्थापनाकालयता अहिलेसम्मकै व्यस्त समय सामना गरिरहेको बताइन्छ । भारतका अधिकांश स्थानबाट प्रयागराजमा सिधा उडान सुरु भएका थिए । हप्तामा ३५ भन्दा बढी उडान सामान्य भइसकेको थियो । विमानस्थलका नाममा धेरै रेकर्ड स्थापित भएका छन् । स्थापनाको १०३ वर्षमा विमानस्थलले पहिलो पटक रात्रिकालीन उडान व्यवस्थापन गरेको थियो । ९३ वर्षपछि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको बताइन्छ; जहाँ एप्पलका संस्थापक स्टिभ जब्सकी श्रीमती लरेन पवेल जब्स यात्रुका रूपमा आउनुभएको थियो । विमानस्थलको बढ्दो व्यस्तता र सीमित हवाई टिकटका कारण भारतका धेरै स्थानबाट एकतर्फी भाडा नै न्यूनतम ३५ हजार भारतीय रुपियाँभन्दा माथि पुगेको थियो । 

भिसा प्रव्रिmया प्लेटफर्म एट्लाइसका अनुसार भारत प्रवेशका लागि भिसा आवेदन दिने दर नै २१.४ प्रतिशतले बढेको थियो । खास गरी संयुक्त राज्य अमेरिका र बेलायतबाट महाकुम्भ यात्राका लागि भिसा आवेदन प्रव्रिmया बढेको कम्पनीको विश्लेषण छ ।  प्रयागराजमा रहेर एक दशकभन्दा बढी समयदेखि समाचार एजेन्सी एएनआईका लागि रिपोर्टिङ गरिरहेका आरभ भारद्वाज महाकुम्भले प्रयागराज मात्र नभएर समग्र उत्तर प्रदेशकै अर्थतन्त्रलाई माथि पु¥याउन सहयोग पुगेको बताउनुहुन्छ । “महाकुम्भका कारण होटेलका कुनै कोठा खाली थिएनन् । हवाई टिकट पाउनै मुस्किल थियो । सडकदेखि महŒवपूर्ण संरचनाहरू बनेका छन्,” उहाँले भन्नुभयो । प्रयागराजवासी भएका कारण उहाँ महाकुम्भलाई स्थानीयको गौरवको विषयका रूपमा लिनुहुन्छ । 

महाकुम्भको यो अवसरलाई भव्य बनाउन उत्तर प्रदेश सरकारको तयारी पनि सहरका सडकहरूमा स्पष्ट झल्किन्छन् । सुरक्षा प्रबन्धका लागि एआईको प्रयोगदेखि सरसफाइ र बासका लागि राज्य सरकारको योजना महाकुम्भस्थल आसपासमा देखिन्थ्यो । विशिष्ट व्यक्तित्वलाई महाकुम्भसम्म ल्याउन राज्य सरकारले गरेको मेहनत खास गरी विमानस्थलमा देखिन्थ्यो; जहाँ सयौँ कर्मचारी र प्रहरी खटाएर सहज तवरले महाकुम्भस्थलसम्म लैजाने व्यवस्था मिलाइएको थियो ।  

जोडिन्छ नेपाल 

महाकुम्भ स्नानका लागि भारतीयपछि सबैभन्दा धेरै नेपाली नै आएको बताउनुहुन्छ, सूचना अधिकारी यादव । नेपालसँग सीमा जोडिएको र सडकबाटै यात्रा गर्न सकिने हुँदा महाकुम्भ नेपाली श्रद्धालुका लागि पनि पहुँचयोग्य बनेको थियो । खास गरी रक्सौल र बेलहिया नाका हुँदै दैनिक सयौँँ यात्रु महाकुम्भ स्नानका लागि प्रयागराजतर्फ लाग्ने गरेका थिए । 

महाकुम्भले जुराएको धार्मिक पर्यटनको लाभ लिने प्रयास नेपालले पनि गरिरहेको देखिन्छ । खास गरी महाकुम्भ स्नानपछि काठमाडौँस्थित पशुपतिनाथ र मुस्ताङको मुक्तिनाथ दर्शन थप फलदायी हुने भन्दै नेपालले पनि श्रद्धालुलाई आकर्षित गर्न खोजिरहेको छ । त्यसो त यी दुवै मन्दिरमा भारतीय हिन्दु धर्मावलम्बीको उत्तिकै आस्था देखिन्छ । त्यही आस्थालाई दर्शनमार्फत साकार बनाउने गरी नेपाल पर्यटन बोर्डले ‘प्रयागराज से पशुपतिनाथ’ अभियान चलाइरहेको थियो । बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठका अनुसार यसका लागि प्रयागराजका पर्यटन व्यवसायी र नेपालका पर्यटन व्यवसायीबिच अन्तर्वि्रmया र बिटुबी समझदारी पनि भएको छ । महाकुम्भले विश्वका हिन्दु धर्मावलम्बीलाई आकर्षित गरिरहेको थियो । सम्भवतः विश्वको सबैभन्दा ठुलो धार्मिक मेला पनि यही थियो । महाकुम्भ धार्मिक गतिविधिमार्फत पर्यटन विकास गर्न सक्ने सेतु बनेको छ । यसका बाछिटा बनारस, अयोध्या र नेपालसम्म फैलिएको छ । अनि केन्द्रमा छ महाकुम्भ ।

Author

विश्वास रेग्मी