गोरखापत्र समाचारदाता
भक्तपुर, कात्तिक ८ गते । लुम्बप्रसाद सुवेदीको ‘खैँजडी भजन’ लोकगीतसङ्ग्र्रह सार्वजनिक गरिएको छ । सुवेदीले स्वर्गीय धर्मपत्नी डम्बरकुमारी सुवेदीको प्रथम पुण्यतिथिमा सो पुस्तक प्रकाशन गर्नुभएको हो । लेखन सुवेदीका अनुसार खैँजडी भजन लोकसाहित्यको प्रमुख विधा भएकाले यसले लोकजीवनको चरित्र, भावना र प्रभाव झल्काउने गरी आमजनताको भाषाबाट अभिव्यक्त हुने गर्दछ । वैद्धिक कालदेखि नै हिन्दु संस्कृतिको एउटा महत्वपूर्ण अङ्गका रूपमा खैँजडी भजन रहेको छ ।
भजनसङ्ग्रहले हिन्दुहरूको पवित्र ग्रन्थ भागवत गीताको सारलाई लोकलयमा प्रस्तुत गरेको छ । भागवत गीताका ३३५ अध्यायसम्मका श्लोकलाई भजनमा समेटिएको छ ।
उहाँले खैँजडी भजन प्रकाशन गरेर नेपाली परम्परागत लोकगीत र नृत्यलाई जोगाउन चाहेको बताउनुभयो । १५६ पृष्ठ रहेको भजनसङ्ग्रहको मूल्य पाँच सय रुपियाँ रहेको छ ।