• ९ माघ २०८१, बुधबार

मुख्य चाडबाडमै घट्यो आयात

blog

काठमाडौँ, कात्तिक ८ गते । नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ । दसैँतिहारका लागि खास गरी भदौ र असोजमा धेरै आयात हुने गरेकोमा यस वर्ष असोजमा भने आयात घटेको भन्सार विभागको तथ्याङ्क छ । 

विभागका अनुसार गत वर्ष असोजको तुलनामा यस वर्षको असोजमा करिब २० अर्ब रुपियाँले आयात घटेको छ । तथ्याङ्क अनुसार २०८१ असोजमा एक खर्ब २८ अर्ब २१ करोड रुपियाँको वस्तु आयात भएको छ । गत वर्ष असोजमा भने एक खर्ब ४८ अर्ब रुपियाँको वस्तु आयात भएको थियो । 

असोजमा मात्र होइन चालु आवको तीन महिनामा समग्र आयातनिर्यात नै घटेको छ । चालु आवको साउनदेखि असोजसम्म तीन खर्ब ९० अर्ब रुपियाँको वस्तु आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा चार खर्ब सात अर्ब ७५ करोड रुपियाँको वस्तु आयात भएको थियो । समीक्षा अवधिसम्म गत वर्षको तुलनामा आयात ४.१७ प्रतिशतले घटेको छ ।

चाडबाडको समयमा लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स, सवारीसहित अन्य उपभोग्य सामानको अत्यधिक कारोबार हुँदा भदौ र असोजमा आयात बढेको विगतमा देखिएको थियो । उपभोग घटेको र भन्सार महसुल बढ्दा आयात बढेको नदेखिएको व्यवसायीहरू बताउँछन् । 

नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष विनोदकुमार सेठियाले धेरै उपभोग गर्ने युवा जमात नै पलायन भएका कारण उपभोग्य वस्तुको आयात घटेको बताउनुभयो । यसबाहेक दैनिक उपभोग्य वस्तुको भन्सार महसुल बढ्दा अवैध आयात पनि बढेकाले तथ्याङ्कमा आयात घटेको देखिएको उहाँले बताउनुभयो । “एकातिर भन्सार महसुल बढ्दा स्थानीयले भारतीय बजारबाट सामान ल्याउने प्रवृत्ति बढेको छ,” उहाँले भन्नुभयो, “अर्कोतिर जसरी पनि राजस्व बढाउने दबाबमा व्यापारीलाई दुःख दिँदा समग्र व्यापार नै घटेको छ ।”

विगतमा उत्साहजनक रहेको निर्यात व्यापार पनि यस वर्ष आयात जस्तै खस्किएको छ । चालु आवका तीन महिनामा मुलुकबाट ३८ अर्ब ३७ करोड रुपियाँको वस्तु निर्यात भएको तथ्याङ्क छ । गत वर्ष सो अवधिसम्म ४० अर्ब ८७ करोड रुपियाँको वस्तु निर्यात भएको थियो । एक वर्षकै अन्तरमा निर्यात करिब साढे दुई अर्बले घटेको देखिन्छ । निर्यातमा उपलब्ध गराइने नगद अनुदान र मूल्य अभिवृद्धि कर समयमै फिर्ता नदिँदा निर्यातकर्ता निरुत्साहित भएर निर्यात घटेको व्यवसायीको अनुभव छ । 

तथ्याङ्क अनुसार असोजमा सबैभन्दा धेरै २२ अर्ब १५ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि १६ अर्ब ६२ करोड रुपियाँको पेट्रोल, १४ अर्ब छ करोड रुपियाँको एलपी ग्यास, १० अर्ब ७३ करोड रुपियाँका फलामे छड आयात भएको छ । निर्याततर्फ सबैभन्दा धेरै दुई अर्ब ८५ करोड रुपियाँको गलैँचा, एक अर्ब ७२ करोड रुपियाँको कालो चिया, एक अर्ब ५७ करोड रुपियाँको फेल्ट आयात भएको विभागको तथ्याङ्क छ । 

समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतबाट दुई खर्ब ४० अर्ब ९२ करोड, चीनबाट ७८ अर्ब ६३ करोड, युक्रेनबाट छ अर्ब ५१ करोड, अस्टे«लियाबाट पाँच अर्ब ६१ करोड रुपियाँको आयात गरेको छ । त्यस्तै भारतमा सबैभन्दा धेरै २४ अर्ब ८५ करोड, संयुक्त राज्य अमेरिकामा चार अर्ब ७७ करोड, जर्मनीमा एक अर्ब २३ करोड र बेलायतमा एक अर्ब तीन करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ ।