• १० मंसिर २०८१, सोमबार

बजेट कार्यान्वयन गर्न अनुगमन जरुरी छ: मुख्यमन्त्री आचार्य

blog

मुख्यमन्त्री चेतनारायण आचार्यलाई ध्यानाकर्षपत्र बुझाउँदै कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख सङ्गीता सुवेदी।

कमल खत्री

धम्बोझी, कात्तिक ७ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सही ढङ्गले कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ। 

कोहलपुर नगरपालिकामा बुधबार जनप्रतिनिधि तथा कर्मचारी सँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षमा बाँके जिल्लालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन भएको र बजेटको सही ढङ्गले कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो। 

बाँके जिल्लामा पुँजीगततर्फ दुई अर्ब ४२ करोड बजेट विनियोजन भएको र पाँच लाख भन्दा माथिका सबै आयोजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्न निर्देशन दिनुभयो । ‘सरकारले विनियोजन गरेको बजेटको सही ढङ्गले कार्यान्वयन भएको छ या छैन त्यसलाई अनुगमन गर्नुस्’, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन जरुरी छ।’

कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना तत्काल गरिने जानकारी दिनुभयो। ‘कार्यालय भवन र कार्यालय सहयोगी नगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ। प्रदेश सरकारबाट कर्मचारी नियुक्त गरेर पठाउटछौंं’उहाँले भन्नुभयो,‘छिटो सेवा सुरु गर्ने योजना अनुसार काम अघि बढेको छ।’ 

कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख सङ्गीता सुवेदीले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापनासँगै समग्र विकासका योजनाको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो।

‘समग्र कोहलपुरको विकासको बारेमा छलफल भयो। साथै यातायात सेवा कार्यालय स्थापनाको बारेमा पनि ध्यानाकर्षण गराएका छौँ। यस बारेमा मुख्यमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ’उहाँले भन्नुभयो,‘छिट्टै यातायात सेवा कार्यालय स्थापना हुने विश्वास दिलाउनु भएको छ।’