• २० पुस २०८१, शनिबार

बकैयामै दस करोडभन्दा बढीको सडक संरचनामा क्षति

blog

मकवानपुर समाचारदाता

हेटौँडा, कात्तिक ७ गते । गत असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण अति प्रभावित मकवानपुरको बकैया गाउँपालिकाले बागमती प्रदेश सरकारलाई सडकलगायतका पूर्वाधार पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएको छ ।

बाढीपहिरोबाट यस जिल्लामा सबैभन्दा बढी क्षति भएको पालिकामध्येको एक बकैया गाउँपालिकाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बाढीपहिरोले पालिकाभित्रका भौतिक संरचनामा पु-याएको क्षति र त्यसपछिको समस्याका बारेमा ध्यानाकर्षण गराएको हो । 

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको नेतृत्वमा गएको उक्त टोलीले पालिकाभित्रको एउटा, ललितपुर र मकवानपुरको बकैया गाउँपालिका जोड्ने पाँच वटा गरी छ वटा झोलुङ्गे पुलमा असोजको दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोले पु-याएको क्षतिका बारेमा मुख्यमन्त्री लामालाई जानकारी गराएको छ ।

गाउँपालिकाका अध्यक्ष लामिछानेले पालिकाको वडा नं. १० अर्थात् साबिक मन्थली गाविसमा बाढीपहिरोले सबैभन्दा बढी क्षति पु-याएको बताउँदै उक्त वडासम्म पुग्ने सबै पहुँचमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएको बताउनुभयो । उहाँले पालिकाभित्रका विभिन्न वडामा बाढीपहिरोले सडक संरचनामा क्षति पु-याएका कारण सात किमी सडकको नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था आएको मुख्यमन्त्रीलाई जानकारी गराउँदै पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । 

सो अवसरमा मुख्यमन्त्री लामाले विपत् व्यवस्थापन कोषबाट अति प्रभावित स्थानीय तहलाई १० लाख रुपियाँ प्रदान गर्ने निर्णय गरिसकेको बताउँदै प्रदेश सरकारको साधन स्रोतले भ्याएसम्म भौतिक संरचना पुनर्निर्माणमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

पालिकाभित्रको सडक संरचना निर्माणमा मात्र साढे १० करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ, उहाँले भन्नुभयो, “यो सबै काम पालिकाको स्रोतमा मात्र सम्भव छैन, प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक हुन्छ ।” असोज दोस्रो साता बागमती नदीमा आएको बाढीले मकवानपुरको बकैया गाउँपालिका–१० स्थित घैयाटार र बागमती गाउँपालिका–४ को देउराली जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । यस्तै बागमतीमा आएको बाढीका कारण मकवानपुरको बकैया गाउँपालिका–१० स्थित सिस्ने र ललितपुर जिल्लाको बागमती गाउँपालिका–४ स्थित प्युटार जोड्ने झोलुङ्गे पुल, बकैया–१०, केराबारी र बागमती गाउँपालिका–४ को केराबारी, बागमती गाउँपालिका–७ को सुवानाबेँसी र बकैया–१० को अम्बासबेँसी तथा ललितपुरकै बागमती गाउँपालिका–६ चैनपुर र मकवानपुरको बकैया–१० को तीनभङ्गाले जोड्ने झोलुङ्गे पुलमा क्षति पुग्दा आवतजावत गर्न नसक्ने अवस्थामा पुगेको हो । 

ललितपुरको बागमती गाउँपालिका र मकवानपुरको बकैया गाउँपालिकाका पाँच स्थानका झोलुङ्गे पुल निर्माणका लागि मात्र छ करोड ७६ लाख २० हजार रुपियाँ लाग्ने अनुमानसहित मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ । 

गाउँपालिका अध्यक्ष लामिछानेले गाउँपालिकाको वडा नं. ३ को बसन र सोही वडाको हात्तीसुँढे जोड्ने झोलुङ्गे पुलमा बाढीले क्षति पु-याउँदा विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या भएको सुनाउनुभयो । 

वडा नं. १० अन्तर्गत हात्तीसुँढे–शिखरपुर–मन्थली–ठिङ्गन सडकखण्डको मन्थली सडकखण्डमा पर्ने सम्पूर्ण सडक पूर्ण रूपमा क्षति भई सडक अवरुद्ध हुँदा बस, सुमो, एम्बुलेन्सलगायतका सवारीसाधनको आवागमन ठप्प हुँदा आवागमनमा समस्यासँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको जानकारी गराइएको थियो । 

वडा नं. १० का वडाध्यक्ष कमला वाइबाले बाढीपहिरोले वडाभित्रका सडक पूर्ण क्षति हुँदा र ललितपुर जोड्ने झोलुङ्गे पुल क्षति हुँदा सडक सम्पर्क टुट्न गई ज्यान नै जोखिममा राखेर आवतजावत गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

बाढीपहिरोले पु-याएको क्षतिका बारेमा ध्यानाकर्षण गराउन पालिका अध्यक्ष लामिछाने, वडा नं. ११ का वडाध्यक्ष गोपाल लामा, वडा नं. १० का वडाध्यक्ष कमला वाइबा, पूर्ववडाध्यक्ष सोम तिमिल्सिनासहितको टोली गएको थियो । 

असोजको दोस्रो साता आएको बाढीपहिरोबाट सबैभन्दा बढी क्षति पुगेका मकवानपुरको बकैया, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकालाई नेपाल सरकारले विपत् सङ्कट क्षेत्र स्थानीय तह घोषणा गरेको छ ।