• १० कात्तिक २०८१, शनिबार

शिक्षा र स्वास्थ्यका भवन निर्माण प्राथमिकतामा

blog

जाजरकोटमा पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, कात्तिक ६ गते ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा र स्वास्थ्यका भवन निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रदेश सरकारद्वारा सञ्चालन भएका कार्यक्रमको कार्यान्वयनको अवस्था बुझ्न सोमबार जाजरकोट आउनुभएका मुख्यमन्त्री कँडेलले पत्रकार भेटघाटमा सो कुरा बताउनुभएको हो । 

शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले भवन निर्माण गरी नमुना देखाउन सके नेपाल सरकारको ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । भूकम्पले क्षतिग्रस्त विद्यालय र स्वास्थ्यका भवन नमुना बनाउनका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । केही समयमै कार्यान्वयन हुने भएकाले सदुपयोग गर्न गराउन सुझाव दिनुभएको छ । 

चालु वर्षका कार्यक्रम कार्यान्वयनको अवस्था, आगामी वर्ष ल्याउन पर्ने कार्यक्रमको जानकारी दिँदै मुख्यमन्त्री कँडेलले जिम्मेवारी अनुसार समान बुझाइ नहुँदा भूकम्पपीडितले दुःख पाइराखेको बताउनुभयो । सबै राजनीतिक दल, कर्मचारी सरोकारवालाले जिम्मेवारी वहन गरे कर्णाली प्रदेशको मुहार फेरिने भन्दै उहाँले विपत्जन्य घटना भएपछि तत्काल सक्रिय हुने केही समयपछि सेलाउँदै जाँदा जनताले दुःख पाउने गरेको उल्लेख गर्नुभयो । 

गत वर्ष कात्तिक १७ गते गएको भूकम्पले विद्यालय र स्वास्थ्यका भवन क्षति गरेपछि स्वास्थ्य र शिक्षा असहज हुँदा प्रदेश सरकारले विद्यालय र स्वास्थ्यका भवन पुनर्निर्माणका लागि २५ करोड विनियोजन गरेको छ । एक वर्ष बित्दा पनि भूकम्पपीडितले अस्थायी आवासको दोस्रो किस्ता रकममै अल्मलिनु, भत्किएका चर्किएका पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा भएको ढिलाइ र गौरवका आयोजना तथा छिमेकी जिल्ला जोड्ने सडकका विषयमा जिज्ञासा राखिएको थियो । 

पत्रकारले राखेको जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूलबाटा बनाउन छोडेर गोरेटो बनाउन लाग्दा जनताले विकासको अनुभूति गर्न नसकेको जिकिर गर्नुभयो । प्रदेश सरकारका कार्यक्रममा दोहोरोपन हुने तर परिणाम नदेखिने गुनासो आएपछि सरकारी कार्यालयका प्रमुखसँगको छलफलमा विकास योजना तथा कार्यक्रमप्रति जनताको मनोबल खस्कँदै गएको अवस्थामा परिणाम देखिने काम गर्न पनि उहाँले सुझाव दिनुभयो । विभिन्न क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग सहकार्य, समन्वय गरी विकास निर्माणमा एकजुट भएर लाग्न पनि उहाँले आग्रह गर्नुभयो । सबैको सहयोगबाट कर्णाली प्रदेशलाई नमुना बनाउने मौका आएकाले नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो ।