• १० कात्तिक २०८१, शनिबार

सडकमा सक्रियता

blog

विसं २०८१ असार ३१ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेससहित अन्य दलको समर्थनमा चौथो पटक नेपालको प्रधानमन्त्री बन्दै हुनुहुन्थ्यो भने ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षालाई मूर्त रूप दिनेमध्येको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एमालेका पुराना नेता तथा राष्ट्रिय सभामा दलका नेता देवेन्द्र दाहालमाथि भरोसा गरेको देखिन्थ्यो । राष्ट्र आर्थिक रूपले कमजोर अवस्था र जनताको उच्च अपेक्षाका बिच तालमेल मिलाउनु र आशाको सञ्चार गर्नु सरकारको पहिलो दायित्व थियो । जब भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले पदभार गरेर अगाडि बढ्नुभयो तब निर्माणाधीन सडक र पुलको अवस्थालाई प्राथमिकतामा राखेर अगाडि बढेको देखिन्छ । निर्माणाधीन सडकमध्ये नेपालको राजधानी काठमाडौँमा खाद्यान्नलगायत ढुवानी धेरै हुने र लाइफलाइनका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक, मुग्लिङ–पोखरा सडक, नारायणगढ–बुटवल सडक, नागढुङ्गा सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर स्थलगत भ्रमण गरी, निर्देशन दिन होइन, समस्या कहाँ कहाँ छन् कसरी समाधान गर्ने भन्ने पत्ता लगाउन मन्त्री दाहाल मन्त्रालयको सम्पूर्ण टिमसहित भ्रमण गर्नुभयो । त्यसपछि सबै पक्षलाई ध्यानमा राखेर कदम चालेको देखिन्छ । उदाहरणका रूपमा नागढुङ्गा–मुग्लिङ सडकको एउटा आयोजनाका लागि मात्र यस्तो तहको चासो र सक्रियता सायद पहिलो पटक होला ।

यस क्षेत्रमा पर्ने वडा, पालिका, प्रदेश, सङ्घमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रिय दलका प्रतिनिधि, मन्त्रालयको सम्पूर्ण टिम, परामर्शदातृ निकाय, निर्माण व्यवसायीसहित बसेर सबै सहमति र हस्ताक्षरसहित निर्माण अगाडि बढाउने वातावरण बनाइएकाले सार्वजनिक महत्वको विषयलाई प्राथमिकता दिएको देखिन्छ । यति मात्र होइन, काममा विलम्ब भइरहेको मुग्लिङ–पोखरा र नारायणगढ–बुटवलको निर्माण व्यवसायी चिनियाँ भएकाले मन्त्री दाहालले तल्लो तहदेखि राजनीतिक नेतृत्व, प्रधानमन्त्री र राजदूतावाससम्म विकास कूटनीतिसमेत प्रयोग गरेर परिणाम निकाल्न खोज्नुभएको कुरा सार्वजनिक नै भएको छ । अबको तीन महिनाभित्र नारायणगढ–बुटवल खण्डको निर्माण सोचे जस्तो प्रगति नभए ठेक्का रद्द गरेर निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्न सक्ने गरी तयारीमा गएको पनि मलाई अनौपचारिक जानकारी छ । नागढुङ्गा सुरुङको सञ्चालन विधि तयार गरेर सम्पन्न हुनासाथ सञ्चालन ल्याउने तयारी गरेको देखिन्छ भने दसैँअगाडि सबै राष्ट्रिय राजमार्गको खाल्टाखुल्टी टाली सक्ने गरी काम अगाडि बढिरहेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट पाइरहेकै बेलामा असोज ११ र १२ को भीषण वर्षाबाट सडक र पुलको क्षेत्रमा अकल्पनीय क्षति राज्यले बेहोर्नुप¥यो । ठुलो मानवीय क्षति र भौतिक क्षति भयो । भौतिक मन्त्रालयले अनवरत खटाइका कारण दसैँअगाडि नै क्षतिग्रस्त सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने काम गरेकाले मन्त्रालयका मन्त्रीदेखि मेसिनचालकसम्म धन्यवादका पात्र छन् । प्रतिकूल र खास खास समयमा नै नेतृत्वको परीक्षण हुने गर्दछ । यो जनताले मूल्याङ्कन गर्ने विषय हो ।

अगाडिदेखि रोकिएको निर्माण व्यवसायीको रकम धेरै जसो वर्तमान सरकार र मन्त्री आएपछि भुक्तानी भएकाले निर्माण व्यवसायीमा पनि गतिशीलताको सञ्चार भएको र थप काम गरेर अब अधुरा निर्माण सम्पन्न गर्ने वातावरण बनेको निर्माण व्यवसायीबिचमा चर्चा चल्न थालेको छ । नेपालमा इन्जिनियरिङ शिक्षा लिएर विदेशमा जाँदा काम गर्दा थप लाइसेन्स लिनुपर्ने जुन समस्या थियो अब धेरै देशमा काम गर्न सहज हुने गरी नेपाली इन्जिनियरको अन्तर्राष्ट्रिय एक्रेडिटसन प्रक्रिया सुरु हुनु समग्र इन्जिनियरिङ र नेपालकै इतिहासमा प्रशंसनीय कामका रूपमा दर्ज हुने कुरामा कुनै शङ्का नहोला । 

यसै मन्त्रालयको लामो समयसम्म समस्याका रूपमा रहेको लाइसेन्स कार्ड छपाइ र वितरणको सन्दर्भमा दिगो तथा डिजिटल समाधान निकालेर अब आइन्दा लाइसेन्सको कार्ड होइन ई कार्ड मात्र बोकेर हिँड्न सक्ने गरी व्यवस्था गर्न सकेकाले सरकार नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल वास्तवमै उपभोक्ताका तर्फबाट धन्यवादको पात्र हुनुहुन्छ । नीतिगत तथा ऐन, कानुनका विभिन्न पाटामा मन्त्रालयको सुधारका लागि विभिन्न विषयविज्ञसँग छलफल गरी राय सुझाव लिएर दीर्घकालीन परिवर्तनको दिशामा अगाडि बढेको विभिन्न सञ्चार माध्यमबाट पढ्न पाउँदा मन्त्री दाहालले केही राम्रै कदम चाल्न लाग्नुभएको छ कि भन्ने अनुमान पनि लगाउन सकिन्छ । यो भने भविष्यमा पुष्टि होला ।

देशको सबैभन्दा ठुलो र बढी पुँजीगत खर्च गर्ने मन्त्रालय र धेरै इन्जिनियर हुने संस्थाको विकास प्रशासन र कर्मचारी प्रशासनको सन्तुलन र अनेक प्रश्न उठ्ने मन्त्रालयको कर्मचारी सरुवाको व्यवस्थितीकरण, पारदर्शिता, कर्मचारीको मनोबल उच्च बनाउने गरी कार्य व्यवहार गरेका कारणले कर्मचारीलाई पनि शुभ सङ्केतसहित कामप्रतिको उत्तरदायित्व वहन गर्ने अवस्था सिर्जना गराएको एक मेरा मित्र इन्जिनियरले सुनाउँदा साच्चै मन्त्रीले राम्रै काम गर्न खोज्नुभएको जस्तो लागेको छ । 

वास्तवमा मन्त्री भनेको राजनीतिक नेतृत्व हो । उहाँले आस र त्रासमा काम नगरी नेपाल र नेपाली जनता, यही सीमित साधन, स्रोत र जनशक्तिको दायराभित्र रहेर परिणाम निकाल्न कोसिस गर्नु पर्छ र निकाल्न सकिन्छ भन्ने आत्मबल हुनु पर्छ ।    

Author

ई. गजेन्द्रप्रसाद थपलिया