• ९ मंसिर २०८१, आइतबार

गुलजार बन्दै बन्दुकेडाँडा

blog

बसाइँसराइले उजाडिएको क्षेत्रमा गरिएको स्याउ खेती । इन्सेटमा फार्ममा फलेको स्याउ टिप्दै दीर्घमान तामाङ ।

कविराज घिमिरे

हिले, कात्तिक ६ गते । बसाइँसराइका कारण तीन दशकसम्म उजाड बनेको बन्दुकेडाँडा अहिले भने सबैको आकर्षणको केन्द्र बनेको छ । केही गर्न सकिँदैन भनेर छाडेको स्थान एकाएक हराभरा भएको छ । अहिले कुरुलेको यो क्षेत्र कृषिकर्म गर्न चाहनेको सिकाइको थलो बनेको छ । 

केही समयअघि धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुकेडाँडा बसाइँसराइका कारण रित्तिएको थियो । गाउँका धेरै स्थानीय कोही तराई त कोही ठुला सहरसम्म पुगे तर उजाड भएको सो स्थानमा केही स्थानीय भने दुःख सुखले बसिरहेका थिए । बसाइँसराइ बढिरहँदा कुरुलेका स्थानीय लोकेन्द्रकुमार याख्खा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारी, दीर्घमान तामाङले २०७३ सालमा तमोर पर्माकल्चर नामक संस्था दर्ता गर्नुभयो । सोही संस्थामार्फत अहिले बन्दुकेडाँडामा कृषि क्रान्ति भएको छ, जसले बसाइँ सरेर जानेलाई समेत लोभ्याएको छ ।

अहिले बन्दुकेडाँडामा लटरम्म स्याउ फलेका छन् । याममा स्याउ मात्र नभई आरुबखडा, ओखर, एभोकाडोलगायत ३५ प्रजातिभन्दा बढी फलफूल फल्छन् । पहिले केही पनि हुँदैन होला भनेको स्थानले अहिले आफूहरूलाई मोहित पारेको चिरञ्जीवी अधिकारी बताउनुहुन्छ । “पहिले सबै बसाइँ सर्दा आफू पनि सर्न बाध्य भइयो तर अहिले यो ठाउँले लोभ्याएको छ । फेरि यही स्थानमा आएर केही गर्न सकिन्छ कि भनेर हेर्न बुझ्न आएका हौँ,” अधिकारी भन्नुहुन्छ ।तमोर पर्माकल्चरले कुरुलेको करिब १०३ रोपनी क्षेत्रफलमा विभिन्न जातका स्याउ, आरुबखडा, ओखरलगायत ३५ प्रजातिभन्दा बढी फलफूल लगाएको छ । साथै नर्सरी पनि गरिएको छ । खेती गर्न अकासेपानी जम्मा गरिएको छ । अहिले यहाँको खेती विधि तथा पानीको जोहो हेर्न पहिले बसाइँ सरेर जाने नै आउन थालेका छन् । याममा धेरै बसाइँ सरेर जानेहरू पुनः केही सिक्न यो स्थानमा आउने गरेको पर्माकल्चरका व्यवस्थापक भोजकुमार काफ्ले बताउनुहुन्छ । 

“बसाइँ सरे पनि आफू हुर्किएको स्थान हेर्न आउने जोकोहीलाई रहर हुन्छ । त्यसमा पनि यो एउटा सबैले हेपेको स्थानमा भएको कृषि क्रान्ति हेर्न पहिले छाडेर जाने नै बढी आउने गरेका छन् । धेरैले त आफूले पहिले छाडेको जग्गामा केही गर्न सकिन्छ कि भनेर सल्लाहसमेत लिनुहुन्छ,” काफ्ले भन्नुहुन्छ ।

बन्दुकेडाँडा हराभरा हुनुको कारण अनौठो छ । २०७३ सालमा स्थानीय दीर्घमान तामाङ बसाइँ सरेर तराई जाने तयारीमा हुनुहुन्थ्यो । बसाइँ सर्न खोज्नुको कारण थियो छिमेकी सबै बसाइँ सरेर जानु । दीर्घमान पनि अब पानीका कारण कुरुलेमा केही गर्न नसकिने रहेछ भन्ने सोचेर बसाइँ सर्ने निचोडमा पुग्नुभएको थियो । बसाइँ सर्ने तयारी गरिरहँदा केही छिमेकी लोकेन्द्रकुमार याख्खा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारीले तामाङलाई सबै मिलेर गाउँमै केही गर्न, बसाइँ नसर्न सुझाए । 

बसाइँसराइले उजाड बन्दै गरेको कुरुलेमै केही गर्न सकिन्छ भन्दा सुरुमा उहाँलाई विश्वास नै लागेन तर भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलले पानी पर्याप्त जम्मा गर्न सकिने र आफूले स्थानीयलाई प्राविधिक सहयोग गर्ने बताएपछि याख्खासहित स्थानीयले तमोर पर्माकल्चर सुरु गर्नुभयो जो अहिले नमुना बनेको छ । 

“उहाँको उत्पे्ररणा र तालिम पाएपछि कुरुलेमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो । त्यसपछि अहिलेसम्म कुरुलेबाट बसाइँ सर्नु पर्छ जस्तो लाग्नै छाड्यो,” तामाङ भन्नुहुन्छ । सबैले तालिम लिएपछि २०७३ सालमा गोयलकै सल्लाह अनुसार उहाँहरूले तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नुभयो । त्यही कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि अहिले कुरुलेका धेरै व्यक्तिले बसाइँ सर्ने कुरा सोच्न छाडेका छन् । 

तमोर पर्माकल्चरका अध्यक्ष लोकेन्द्रकुमार याख्खाका अनुसार अहिले यही विधि अनुसार कुरुलेमा धेरै स्थानीयले स्याउ फलाएर बिक्री गर्न लागेका छन् । पहिले पानीको समस्याका कारण सब्जीसमेत बजारबाट खरिद गरेर खाने यहाँका स्थानीयले अहिले आफैँ उत्पादन गरेर बिक्रीसमेत गर्न सुरु गरेका छन् । पहिले बसाइँसराइले उजाड भएको कुरुले अहिले पुनः हराभरा हुन थालेको छ । 

तमोर पर्माकल्चर एक कम्पनी हो तर यो अन्य कम्पनीभन्दा भिन्न छ । यहाँ भएको नाफा वितरण गरिँदैन । पहिले कम्पनीका लागि खर्च गरिन्छ बाँकी रहेको रकम यस्तै क्षेत्रका लागि खर्च गरिने कम्पनीका व्यवस्थापक भोजकुमार काफ्ले बताउनुहुन्छ । यहाँ आएर सिक्न चाहनेका लागि सिकाउनेसमेत व्यवस्था छ । कम्पनीका लागि प्राविधिक र आर्थिक सहयोग अहिले पनि गोयल र उहाँको संस्था ‘केटिके बेल्ट’ ले उपलब्ध गराउँदै आएको छ । 

आकासेपानीको जोहो 

कुरुलेबाट बसाइँ सर्नुको मुख्य कारण पानीको समस्या थियो । २०४५ सालको भूकम्पपछि कुरुलेमा पानीको धेरै मुहान सुकेको र पानीको समस्या बढेसँगै बसाइँसराइको क्रम सुरु भएको स्थानीय बताउँछन् । यो कार्य गर्न पनि सुरुमा पानीको जोहो कसरी गर्ने भन्ने मुख्य चुनौती थियो र पछि गोयलकै सल्लाह अनुसार आकासेपानी सङ्कलनका लागि ठुला ठुला पाँच पोखरी निर्माण गरिए जहाँ बर्खामा परेको करिब ३७ लाख लिटर पानी जम्मा हुन्छ । जसले सिँचाइका लागि आवश्यक पर्ने पानीको जोहो हुन्छ । अहिले यही तरिका अपनाउँदै स्थानीयले समेत आकासेपानीको जोहो गर्न थालेका छन् ।

थप समाचार हेर्नुहाेस  ः https://beta.gorkhapatraonline.com/tourism/2022-01-07-54745