• ५ कात्तिक २०८१, सोमबार

छठ पर्वमा बाँसका सामग्रीको महत्त्व

blog

छठ नजिकिँदै गर्दा जनकपुरधामको पेठिया बजारमा बाँसबाट बनेका विभिन्न प्रकारका सामग्री बेच्न राखिएका । तस्बिर : लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक ५ गते । छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरू बाँसका सामग्री बनाउनमा व्यस्त छन् । बाँसका सामग्रीहरू सुपा, डाली, सिज, र दौरा छठको पूजा र अर्घ दिने परम्परामा अत्यन्तै महत्त्वपूर्ण हुन्छन् ।

डोम समुदायका मानिसहरू वर्षभरि बाँसका विभिन्न सामग्रीहरू बनाउँछन्, तर छठ पर्वको समयमा यी सामग्रीहरूको माग धेरै बढ्ने गर्दा उनीहरू अहिले सम्पूर्ण परिवार सामग्री बनाउनमा लागेका छन् । विशेष गरी छठ पर्वको समयमा उनीहरूको व्यवसायमा वृद्धि हुन्छ, जसले गर्दा उनीहरू रातदिन यी सामग्रीहरू बनाउँदै विक्री गर्ने कार्यमा लागि पर्छन् । बाँसबाट बनेको नाङ्लो, डालो जस्ता सामग्रीहरूको छठको विशेष पूजा विधिमा महत्त्वपूर्ण भूमिका हुने भएकाले, यी सामग्री बिना छठको पूजा अधुरो मानिन्छ ।


यस्तै जनकपुरधाम उपमहानगरपालिका ७ की लिलम मल्लिकका पाँच जना परिवारका पाँचै जना सदस्य यतिबेला बाँसका सामग्री बनाउनमा व्यस्त छन् । उनीहरू कोहीले बाँस काट्ने, कोहीले ताछ्ने र कोहीले बनाउने काम गर्दैछन् । लिलम भन्नुहुन्छ,“पहिले हाम्रो समुदाय यसै पेसामा निर्भर हुन्थ्यो, अहिले माग घटेका कारण विशेषगरी छठका बेला मात्र सामग्री तयार पारिन्छ । पहिला बाबा, दादाहरूले आफैँ बनाउने र बेच्ने गर्नुहुन्थ्यो । तर, अहिले हामीले बनाउने मात्र गर्छौ, बेच्ने समयलाई सदुपयोग गर्दै, सामग्री बनाउनमा लगाउँछौँ।” आजकाल कतिपय  व्रतालुले पित्तलका सामग्री प्रयोग गर्न थालेपछि बाँसका सामग्रीको प्रयोग घट्दै गएका कारण माग पनि घटेको उहाँको बुझाइ छ ।  


एक सिजनमा बाँसबाट बनेका सामग्रीबाट ७-८ हजार रुपियाँ कमाई हुने लिलमको भनाइ छ । पहिला सहजै र कम मूल्यमा बाँस खरिद गर्न पाइन्थ्यो तर, अहिले बाँस पनि बाहिरबाट आउँछ, र महँगो पनि छ, यसरी बाँस उत्पादन र प्रयोग कमी आउँदा हाम्रो परम्परागत पेसामा लुप्त हुने डर पनि बढेको उहाँ बताउनुहुन्छ । 

साता दिन अघिदेखि नै जनकपुरधामको पेठिया बजारमा छठका लागि बाँसका सामग्री लामलस्कर राखेर बेच्न थालिएको छ । जहाँ जिल्लाबाट मात्र नभएर जिल्ला बाहिरबाट पनि बाँसका सामग्री मगाउने गरिन्छ । 

डोम समुदायका लागि यो पर्व उनीहरूको आर्थिक उपार्जनको ठुलो स्रोत पनि हो, किनकि बाँसका सामग्रीको माग छठका बेला अत्यधिक हुन्छ । यसले उनीहरूलाई आर्थिक लाभ दिलाउनुका साथै उनीहरूको परम्परागत कौशललाई जगेर्ना गर्न सहयोग गर्छ । 

डोम समुदायको सिपलाई सांस्कृतिक सम्पदाको रूपमा मात्र नभएर आर्थिक अवसरका रूपमा पनि हेर्नुपर्छ । यसका लागि सरकारी नीतिहरू र कार्यक्रमहरूमा उनीहरूको सहभागिता र समर्थन आवश्यक छ ।