• ५ कात्तिक २०८१, सोमबार

पुर्ख्यौली पेसा संरक्षणमा जुट्दै युवा

blog

कावासोतीको हुलाकी मादल पसलमा मादल बनाउँदै युवा । तस्बिर : मिना कँडेल

मीना कंडेल

कावासोती, कात्तिक ५ गते । पछिल्लो दिनमा बदलिँदो साङ्गीतिक माहौलसँगै युवापुस्तामा विदेशी र पश्चिमा संस्कृतिको छाप पर्दै जाँदा नेपाली मौलिक परम्पराका बाद्यबादनप्रतिको मोह मर्दै गएको छ । 

बढ्दो आधुनिकतासँगै इन्टरनेटको सुविधा सर्वसुलभ हुँदै जाँदा नेपाली मौलिक परम्पराका लोक संस्कृति लोपोन्मुख हुँदै गएका छन् । बढ्दो आधुनिकताले विकसित गितसंगितप्रति युवापुस्ताको झुकाव बढ्दैगएको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा पुख्र्याैली पेसा संरक्षणमा युवा जुटेका छन् । विगत २४ वर्षदेखि रामप्रसाद नेपालीले सञ्चालन गर्दै आउनुभएको मादल व्यवसाय अहिले उहाँका छोराले निरन्तरता दिनुभएको छ । 

कावासोतीमा सञ्चालित हुलाकी मादल पसलबाट नै आफ्नो परिवार पाल्दै आउनु भएका रामप्रसादको मृत्यु भएपछि पुर्खादेखि चलेको पेसालाई निरन्तरता दिँदैआएको विजय नेपालीले बताउनुभयो ।

मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ काठ, छाला, खरीजस्ता सामग्रीको पनि अभाव हुँदैगएको र बजारमा मादल खासै माग हुन छाडेको विजयले बताउनुभयो । जसका कारण मादल बनाएर विक्री गर्ने व्यवसाय पनि घटेको उहाँको भनाइ छ । मादल, ढोलक, दमाहालगायतका बाजाको प्रयोगमाभन्दा पनि आधुनिक उपकरणमा मानिसको आकर्षण बढेकाले पुख्र्याैली पेसा सङ्कटमा परेको विजय नेपालीको भनाइ छ । 

उहाँले भन्नुभयो, “मादल व्यवसायबाट नै जीविकोपार्जन गर्दै बुबा आउनुभएको थियो । केही वर्ष पहिले मादल व्यवसायबाट मासिक रूपमा २५ हजार रुपियाँ हुने गरेको भए पनि अहिले त्यस्तो भएको छैन ।” आफू वैदेशिक रोजगारमा गए पनि बुबा बिरामी परेकाले स्वदेश फर्केर पुर्खादेखिको सो पेसालाई निरन्तरता दिँदै आएको बताउनुभयो । सोचेअनुसार व्यापार नभए पनि आफ्नो पुर्खादेखिको पेसा भएकाले सो पेसामा लागेको उहाँको भनाइ छ ।

मौलिक गीत गाउने चलन हराउँदै गएपछि अहिले मादलको व्यापार नभएको कावासोतीमा मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएका भीमबहादुर नेपालीले बताउनुभयो । अहिले मादल बनाउने सीप समेत हराउँदै गएको उहाँले बताउनुभयो । केही वर्ष अघिसम्म तिहार सुरु भएसँगै गाउँघर जताततै मादलले गुन्जयमान बनाउने गर्दथ्यो । 

मादलको तालमा बाल, वृद्ध तथा युवा तन्नेरी पनि देउसी, भैलो र तिहारका गीत गाएर रमाउने गर्दथे । पछिल्ला दिनमा मौलिक परम्पराका बाद्यबादनप्रतिको मोह घटेको नेपालीको बुझाइ छ । 

तिहारमा विशेष गरेर देउसी भैलो खेल्नका लागि नेपाली मौलिक बाजा मादलको प्रयोग गरिन्थ्यो । तिहारलाई लक्षित गरी बनाइएको मादलको त्यो समयमा निकै राम्रो व्यापार हुने गर्दथ्यो । तर पछिल्ला दिनमा आएर चाड मनाउने शैलीमा पनि फेरबदल आएसँगै मादल व्यवसाय सङ्कटमा पर्न थालेको छ ।