• ५ कात्तिक २०८१, सोमबार

विकास कुरामा भन्दा व्यवहारमा गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

blog

जाजरकोटमा पत्रकार भेटघाटमा आफ्नो धारणा राख्नु हुँदै मुख्यमन्त्री यमलाल कँडेल । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, कात्तिक ५ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले विकास कुरामा भन्दा पनि व्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्ने बताउनुभएको छ । २ दिने जिल्ला भ्रमणको लागि जाजरकोट आउनुभएका मुख्यमन्त्री कँडेलले जिल्ला स्थित सात वटै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख सँगको अन्तरक्रियामा उक्त कुरा बताउनुभएको हो ।

जिल्लामा प्रदेश सरकार अन्तर्गत सञ्चालन हुने विकास कार्यक्रमलाई समयमै सम्पन्न गर्न समेत उहाँले कार्यालय प्रमुखहरूलाई निर्देशन दिनु भएको छ । सात वटै स्थानीय तहका प्रमुखहरूलाई आफ्नो पालिकामा हुने विकास योजनाहरू समयमै सिफारिस गरी पठाउन अनुरोध गर्नु भएको छ । आफ्नो पालिकामा हुने प्रदेश सरकार अन्तर्गतका विकास योजनाहरूको अनुगमन तथा अपनत्व लिन समेत उहाँले पालिका प्रमुखहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका तर्फबाट मुख्यमन्त्री कँडेललाई जिल्लाको तर्फबाट भूकम्प पछिको पुनर्निर्माण, सडक पूर्वाधारको निर्माण, स्थायी आवासको व्यवस्था लगायतको विषयमा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।

त्यस्तै नागरिक समाजको तर्फबाट पनि मुख्य मन्त्री कँडेल समक्ष जनसरोकार तथा भूकम्प पछिको पिडा र सरकारले तत्काल गर्नु पर्नेकार्यका बारे ध्यानाकर्षण पत्र बुझाइएको छ।

जिल्लामा रहेका विभिन्न बहुमूल्य पत्थर खानीहरूको उत्खनन, टालेगाउँ, पजारू, दह लगायतका क्षेत्रमा पाइने काइनाइट र टुरमालिन जस्ता बहुमूल्य पत्थरहरूको खानी उत्खनन गरिएमा जिल्लाको आर्थिक अवस्थामा पर्याप्तता मात्रामा टेवा पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै सडक पूर्वाधार र पर्यटन प्रवर्द्धनमा पनि दलहरूले प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । साथै जाजरकोट जुम्ला सडक, भेरी कोरिडोर, मध्यपहाडी लोकमार्गको मन्ता भीर खण्डको निर्माणको पनि माग गरेका छन् । साथै ४२० मेघाबाटको नलसिङ्गाड जलविद्युत आयोजना, भेरी पुल निर्माणको पनि माग गरेका छन् ।

अन्तरक्रिया पश्चात् मुख्य मन्त्रीको भ्रमणको विषयमा पत्रकार भेटघाट कार्यक्रम समेत गरिएको छ । नेपाल पत्रकार महासङ्घ जाजरकोटले आयोजना गरेको कार्यक्रममा आफूले समग्र जिल्लाको बस्तु स्थिति बुझ्ने मौका पाएको बताउँदै स्रोत अनुसारको कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । पत्रकारहरूको जिज्ञासामा पत्रकारहरूको बिमा लगायतका कार्यक्रम आफूले ल्याएको बताउनु भएको थियो ।