• ५ कात्तिक २०८१, सोमबार

न्युजिल्यान्डलाई टी-२० महिला विश्वकप उपाधि

blog

उपाधिसहित न्युजिल्यान्ड टोली । तस्बिर : एएफपी

काठमाडौँ, कात्तिक ५ गते । आइसिसी टी-२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ ।

दुबईमा आइतबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक महिला विश्वकप उपाधि जितेको हो ।

यसपटक ६ पटकको च्याम्पियन अस्ट्रेलिया तथा एक एक पटकको उपाधि विजेताका वेष्ट इन्डिज र इङ्ल्यान्ड सेमिफाइनलबाट बाहिरिएपछि न्युजिल्यान्ड नयाँ इतिहास बनाउन सफल भयो । 

फाइनल खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २६ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्ड १४ वर्षपछि फाइनल पुगेर उपाधि जित्न सफल भएको हो । 

न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा पनि फाइनल पुगेको थियो । न्युजिल्यान्ड पहिलो संस्करणमा इङ्गल्यान्ड र दोस्रो संस्करणमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

यता लगातार दोस्रो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिका अन्ततः न्युजिल्यान्डलाई उपाधि सुम्पन बाध्य भयो । एजेन्सी