• ५ कात्तिक २०८१, सोमबार

ठेकी कोरेर जीवन गुजारा

blog

जाजरकोट समाचारदाता

जाजरकोट, कात्तिक ५ गते । छेडागाड नगरपालिका–९ का चन्द्रबहादुर चनारा ठेकी कोरेर आफ्नो परिवारको लालनपालन गर्दै आउनुभएको छ । एक छोरा र तीन छोरीसहित छ जनाको परिवार भएका चनाराले काठको ठेकी कोर्ने पेसाबाट आएको आम्दानीले परिवारको पालनपोषणसहित छोराछोरीलाई पढाउँदै आएको बताउनुहुन्छ । 

चन्द्रबहादुरले कोरेको ठेकी स्थानीय गाउँमै बिक्री हुने गरेको छ भने कतिपयले नेपालगन्ज, सुर्खेतलगायतका सहरमा चिनोका रूपमा लिने गरेका छन् । एक दिनमा ठुला चार वटा, साना पाँच/छ वटासम्म ठेकी कोर्ने गरेको उहाँको भनाइ छ । लोप हुँदै गएको परम्परागत सिपलाई आफ्ना छोराभाइलाई सिकाउने इच्छा भएको चनाराले बताउनुभयो । ठेकी कोर्ने परम्परागत सिप लोप हुँदै गएको बताउँदै उहाँले पछिल्लो पुस्ताले यस पेसाप्रति चासो नलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । आफूले ठेकी उद्योग सञ्चालन गर्नका लागि सरकारी अनुदानसँगै बजार व्यवस्थापनको आवश्यकता पर्ने उहाँको भनाइ छ ।