• ५ कात्तिक २०८१, सोमबार

पोखरामा पानी रङको ध्वनि छरिने

blog

लेखनाथ समाचारदाता

लेखनाथ, कात्तिक ५ गते । भनिन्छ, पोखराले पानी रङमा काम गर्ने कलाकारलाई मन फुकाएर रङ पोख्ने वातावरण दिन्छ । त्यसैले पोखरालाई ‘पानी रङको सहर’ समेत भनिन्छ । पोखरामा हरेक वर्ष पानी रङको अन्तर्राष्ट्रिय कला प्रदर्शनीसमेत हुँदै आएको छ । त्यसो त पोखराका कलाकार धेरै जसो पानी रङमा काम गर्ने छन् । पानी रङको सहर पोखरामा कात्तिक २१ देखि २५ सम्म ‘रङहरूको ध्वनि’ शीर्षक अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदै छ । बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी, कला शिविरसहितको कार्यक्रम गरिने जनाइएको छ ।

कार्यक्रम संयोजक हेमकान्ति गुरुङका अनुसार कार्यक्रममा नेपालसहित १९ देशका १५० कलाकार सहभागी हुने तय भएको छ । टर्की, भियतनाम, भारत, फ्रान्स, पोल्यान्डलगायतका देशबाट कलाकार आउँदै छन् । यी कलाकारको आगमन र कला कार्यक्रमले पोखराको प्रवर्धनसहित नेपालको कला क्षेत्रको विकासमा योगदान गर्ने आयोजकको अपेक्षा छ । 

कार्यशालामा सहभागी भई उत्कृष्ट हुने कलाकारलाई अवार्डसमेत प्रदान गरिने जनाइएको छ । संयोजक हेमकान्तिले भन्नुभयो, “नेपालको प्रकृतिमा अनेक रङ छन् । पृथक् र मनमोहक प्रकृति यो कार्यक्रममा हामी कलाकारलाई देखाउँछौँ ।” उहाँले भन्नुभयो, “रङहरूको ध्वनि भनेर हामीले यही प्रकृतिको विविधतालाई सङ्केत गर्न खोजेका हौँ ।” 

उहाँका अनुसार पहिलो दिन बालकलाकार र अरू कलाकारका छुट्टाछुट्टै प्रदर्शनी गरिने छ । दोस्रो दिन कात्तिक २२ गते इन्टरनेसनल वाटर कलर सोसाइटीका अध्यक्ष आटनुर डोगनले पानी रङमा पोट्रेट बनाउने कलाबारे प्रशिक्षण दिनुहुने छ । तेस्रो दिन कलाकारलाई पोखराको गन्धर्व बस्ती लामाचौरसहित वेगनास ताल र माझीकुना लगिने छ । कात्तिक २४ गते कलाकारलाई धम्पुस लगिने छ । त्यहाँ कला कार्यशाला हुने तय छ । पाँचौँ दिन विशेष समारोहसहित समापन गरिने जनाइएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्राज्ञ बुद्धि गुरुङले यस्ता खालका कार्यक्रमले कला क्षेत्रको विकासका लागि उत्साह भर्ने बताउनुभयो ।