• १० कात्तिक २०८१, शनिबार

एकै पालिकाका ४७ जनालाई मोतियाविन्दु

blog

ऑखा शिविरमा ऑखा जाँच गराउँदै स्थानीय । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ४ गते । नेपालगन्ज सहरसँग जोडिएको बाँकेको डुडुवा गाउँपालिका–६ मा २२० जनाको निःशुल्क आँखा परीक्षण गर्दा ४७ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन र डुडुवा गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र १३० जना महिला गरेर कुल २२० जना बिरामीको आँखा जाँच गरिएको थियो ।

हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतियाविन्दुको समस्या देखिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी गराउनुभयो । उहाँका अनुसार यो सङ्ख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन् ।

शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतियाविन्दुको समस्या देखिएको छ । अन्य बढी जसो सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए ।

कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा नियमित रूपमा कात्तिक १५ सम्म कार्यक्रम सञ्चालन हुनेछ । आँखाको समस्या भएकालाई सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मूल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले बताउनुभयो । उहाँले आँखाको अप्रेसन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको बताउनुभयो । 

यस्तै, अस्थायी स्वास्थ्य केन्द्र दलैपुर र कम्दी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने तयारी पनि चलिरहेको छ ।