• ३ कात्तिक २०८१, शनिबार

केरा खेतीबाट आर्थिक वृद्धि

blog

मौलापुर नगरपालिका–४ मा गरिएको केराखेती । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, कात्तिक ३ गते । 
एक पटकको लगानीमा वषौँ आम्दानी लिन पाइने भएपछि पछिल्लो समय रौतहटका किसानले व्यवसायिकरुपमा केराखेती गरी आयआर्जन वृद्धि गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै जिल्लाका किसान केरा खेतीतर्फ आकर्षित भई आर्थिक वृद्धि गरेका हुन् ।

जिल्लाको १८ वटा पालिकामध्ये गढीमाई, कटहरिया, फतुवाविजयपुर, चन्द्रपुर, गौर, परोहा, मौलापुरलगायत नौ वटा पालिकाका ३२ वटा वडाको ३२१ हेक्टर जमिनमा माटो परीक्षण गरी केरा खेती गर्न छनोट गरिएको परियोजनाका कृषि अधिकृत दीपककुमार मिश्रले जानकारी दिनुभयो । उहाँकाअनुसार सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा केरा खेती गर्न प्रोत्साहित गरेको छ ।

मौलापुर नगरपालिका–४ का किसान रामनाथ साहले १० कठ्ठा जमिनमा लगाउनुभएको केराखेतीबाट वार्षिक पाँच लाख रुपियाँ आम्दानी लिन सफल हुनु भएको बताउनुभयो । दसैँको बेलामा मात्रै उहाँले केरा बिक्री गरेर डेढ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । केरा रोपेको नौ महिनादेखि पसाउन थाल्छ र एक वर्षमा बिक्रीका लागि तयार हुन्छ । एक पटक रोपेपछि त्यसबाट उत्पादन भएका बिरुवाले कम्तीमा पाँच वर्षसम्म फल दिने हुनाले पनि केरा खेती गर्न सहज भएको उहाँ बताउनुहुन्छ ।

यता चन्द्रपुर नगरपालिका–३ गैंडाटारका किसान ज्योति देवकोटाले आठ कठ्ठा जमिनमा केराखेती गरी वार्षिक चार लाख रुपियाँ आम्दानी लिनुभएको छ । उहाँ भन्नुहुन्छ, “रासायनिक मल, उन्नत बिउ र समयमा सिँचाइ उपलब्ध नहुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि बहुवर्षीय केरा खेती गर्न थालेँ । जसबाट आम्दानी पनि राम्रो भयो ।”

केरा खेतीमा सरकारले बिमाको समेत व्यवस्था गरेको छ । कृषि प्राविधिक सुभाषप्रसाद साह भन्नुहुन्छ, “बिमाले केरा खेतीको जोखिम न्यूनीकरण गरेको हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । जिल्लाका किसानले मालभोग, चिनीचम्पा, धुसरे, हरिछाल, जिजाइनलगायतका उन्नत जातका केरा खेती गरेका छन् ।”

व्यवसायिकरुपमै केराखेतीमा लाग्ने किसानलाई तीन वटै तहले प्राविधिक ज्ञान, तालिम, प्राविधिक व्यवस्थालगायत आर्थिक तथा बजारीकरण समेत को व्यवस्थापनमा सहयोग पुर्‍याउन सके नेपाल केरामा आत्मनिर्भर हुने सक्ने किसानहरू बताउँछन् ।