• ३ कात्तिक २०८१, शनिबार

साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भुटानका खेलाडी । तस्बिर सौजन्य : विकास तिमल्सिना

काठमाडौँ, कात्तिक २ गते । लगातार पाएको अवसर सदुपयोग गर्न नसक्दा साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा शुक्रबार साँझ भएको खेलमा नेपालले पहिलो र दोस्रो हाफमा चारवटा राम्रा गोलको अवसर बनाएको थियो । नेपालको लगातार प्रयासमा भुटानकी गोलरक्षक संगीता माङ्गेर बाधक बन्नुभयो ।

दोस्रो हाफको इन्जुरी समयमा समेत नेपालकी सविता रानामगरको पोस्ट छेउको प्रहार पोलमा लागेर फर्किएपछि नेपाल अङ्क बाँड्न बाध्य भयो । साफ महिला फुटबलको इतिहासमा नेपाललाई भुटानले बराबरीमा रोकेको यो पहिलो पटक हो । 

यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो । सन् २०१४ को तेस्रो संस्करणमा नेपालले भुटानलाई ८-०, सन् २०१६ को चौथो संस्करणमा ८-०, सन् २०१९ को पाँचौँ संस्करणमा ३-० र सन् २०२२ को छैटौँ संस्करणमा ४-० ले हराएको थियो ।


तर सातौँ संस्करणमा आएर भुटान नेपाललाई बराबरीमा रोक्न सफल भयो । खेलभर रक्षात्मक रणनिति अपनाएको भुटान अन्ततः आफ्नो रणनितिमा सफल भयो ।

भुटानविरुद्धको खेलमा नेपालकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को अभाव खड्किएको थियो । बराबरीसँगै समूह ‘बी’ मा रहेको नेपाल र भुटानले एक एक अङ्क बनाएको छ ।


यही समूहअन्तर्गत शुक्रबार नै भएको अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलले हराएको छ । जितसँगै श्रीलङ्काले तीन अङ्क बनाएको छ । नेपालले समूहको दोस्रो खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । बिहीबार भएको समूह ‘ए’ को पहिलो एवं उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको थियो ।