• २ कात्तिक २०८१, शुक्रबार

दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ

blog

दुर्घटना गराएर फरार चालक पक्राउ परेपछि ।

जनार्जन खत्री

सर्लाही, कात्तिक २ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

असोज १५ गते राति ११ बजे बस्तीपुरस्थित जनज्योति क्याम्पसनजिक पूर्वपश्चिम  राजमार्गमा हरिवन नगरपालिका –११, बस्ने अब्दुल साह फकिरका छोरी २१ वर्षीया अप्सरी खातुन गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । 

सुरुमा परिचय नै नखुलेको महिलाको सवारीको ठक्करबाट मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो । राजमार्गका विभिन्न स्थानमा रहेका सीसीटिभीको फुटेज सङ्कलन गरी अनुसन्धान गर्दै जाँदा उक्त दुर्घटनामा प्रदेश १–०१–००१ ख ३९४८ नम्बरको ६ चक्के मिनीट्रक संलग्न रहेको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिनुभयो । 

प्रहरीले ट्रकचालक ईलामको सूर्योदय नगरपालिका –१, बस्ने ३७ वर्षीय जीतबहादुर राईलाई समेत नियन्त्रणमा लिएको छ । चालक राईले घटना स्वीकार गरिसकेका प्रहरीको भनाइ छ । राईलाई सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थपगरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो ।