• २ कात्तिक २०८१, शुक्रबार

माटाको भाँडा बनाउन भ्याईनभ्याई

blog

सुनसरीको इनरुवा नगरपालिका ४ पंडित टोलमा माडो भाँडो घैला र दियो पोलेर सुकाउँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, कात्तिक २ गते । दसैँ सकिएपछिको दोस्रो पर्व तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा, हरिनगर र बर्जुका पण्डित अर्थात् कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्रीवितरण गर्न भ्याईनभ्याई भएको छ । यहाँका कुम्भकारहरुले एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाँडा बनाउने काममा व्यस्त हुने गरेका छन् । 

व्यस्त हुनुको उनीहरुको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, हरिनगर गाउँपालिका, बर्जु गाउँपालिका र कोशी गाउँपालिकाको लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले तिहार र छठ सहितको चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको इनरुवा ४ का स्थानीय जगदिश पण्डितले बताउनुभयो ।

यहाँका कुम्भकार समुदाय दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियो सहितका विभिन्न किसिमका माटाका भाडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ। भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरेको छ । आफूहरु अहिलेदेखि नै भाडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको उहाँको भनाइ छ । दीपावली तथा छठपर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको इनरुवा २ का स्थानीयवासी सियाराम पण्डितको भनाइ छ ।

सियारामसँगै देवनारायण पण्डितलाई पनि दियो, चौमुखे दियो, कलश लगायतका सामग्री बनाउन भ्याईनभ्याई छ । तिहार र छठ पर्वमा खर्च कटाएर ती सामग्री बेचर करिब ३० हजारसम्म बचत हुने भएकाले उनीहरु अहोरात्र यो काममा खटिएका छन् । रोजगारी अभावमा फुर्सदमा घरमा बस्ने महिलाहरु पनि यतिबेला सो काममा पुरुषहरुलाई सहयोग गर्ने गरेका छन् ।

पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुडा बनाउने रहेकाले सो कार्यक्रममा व्यस्त बनेको छ । आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडिदेखि नै गरे पनि निकै चुनौती समेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताउनुभयो । प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाडो बनाई गाउँघरदेखि शहरसम्म बेच्ने गरेको छ । 

सरकारले यो पेशालाई संरक्षण गर्नुपर्ने उनीहरुको माग छ । इनरुवामा लघु उधम कार्यक्रम अन्तरगत केहीलाई माटो मुच्छने र आधार दिने मेसिन समेत उपलब्ध गराएको स्थानीय रामसागर दास पंडितले बताउनुभयो । इनरुवा ४ मा पाँच जनालाई समूहमा माटो मुच्छने र आधार दिने मेसिन समेत उपलब्ध गराएको स्थानीय सत्यनारायण पंडितले बताउनुभयो। 

केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर उतरी क्षेत्र धरान, इटहरी सहित देशकोस्थानमा पनि छठ पर्व मनाउन थालिएकाले यहाँ बनाइएका माटाको भाँडो सामग्री लाने गरेको अर्का स्थानीय गणेश पंडितले जानकारी दिनुभयो । सुनसरीको इनरुवा र लौकही बजारबाट मात्रै तिहार र छठको सिजनमा कलसका लागि घैला एक लाख बढी, दिपावलीका लागि २० लाख बढी दियो विक्रि भईरहेको पंडितहरुको कथन छ ।