• १० मंसिर २०८१, सोमबार

बाँकेमा ४६ हजार बढीलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

blog

मधेशी बाहुल्य जानकी गाउँपालिकामा भिटामिन 'ए' खुवाउँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २ गते । बाँकेमा ४६ हजार बढी बालबालिकालाई शुक्रबारबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । 

जिल्लामा भिटामिन ‘ए’ खाने ६ देखि ५९ महिना उमेरसम्मका ४६ हजार ४८० जना बालबालिकाहरुलाई शुक्रबार र शनिबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार सोही प्रकारले एकदेखि पाँच वर्षसम्मका ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधी खुवाउन पनि सुरु गरिएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी मात्र खुवाइने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । 

स्वास्थ्य कार्यालय अनुसार बाँके जिल्लाका आठ वटा पालिकामध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार १५ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैछ भने १० हजार ६२१ जना बालबालिकालाई जुकाको औषधी खुवाइँदैछ ।

सबैभन्दा कम जानकी गाउँपालिकाका चार हजार १३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र तीन हजार ५४८ बालबालिकालाई जुकाको औषधि खुवाइदैछ । भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ७८५ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थय कार्यालयले जनाएको छ । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकामा १९६, कोहलपुर नगरपालिका ७१, राप्ती सोनारी गाउँपालिकामा ११०, खजुरा गाउँपालिकामा १०८, जानकी गाउँपालिकामा ८१, नरैनापुर गाउँपालिकामा ६८ जना स्वयंसेविका परिचालन गरिएका छन् । 

यसैगरी डुडुवा गाउँपालिकामा ५९ र बैजनाथ गाउँपालिकामा ९२ जना स्वयंसेविका परिचालन गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने अभियानमा सहयोग गर्न सबै पालिकाका जनप्रतिनिधि र सामाजिक अगुवाहरुलाई अपिल गरिएको पनि श्रेष्ठले बताउनुभयो । 

विशेषगरि मुस्लिम र मधेशी बाहुल्य पालिका र क्षेत्रहरुमा निकै कम संख्यामा भिटामिन ए र जुकाको औषधी खुवाइने गरिएकोले ती क्षेत्रहरुमा बिशेष ध्यान दिईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।