• २ कात्तिक २०८१, शुक्रबार

अग्निपीडित परिवारलाई किर्डाकको सहयोग

blog

आगलागीबाट जलेर नष्ट भएका जुबिथाका घर । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, कात्तिक २ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग दिन सुरु भएको छ । बुधबार दिउँसो एक घरबाट सुरु भएको आगोले तीन घर जलेर नष्ट हुँदा २६ घर परिवार विस्थापित भएका थिए ।

आगलागी पीडित परिवारलाई कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले सहयोग प्रदान गरेको छ । किर्डाक नेपाल कालीकोटले प्लान नेपालको सहयोगमा पीडित परिवारलाई ब्लाङ्केट सहयोग गरेको हो । 

तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्यायले अग्नीपिडितलाई किर्डाक नेपालले सबैभन्दा पहिला सहयोग गरेको बताउनुभयो । उहाँले पीडितको घाउँमा मलम लगाउने गरि सुरुमै सहयोग सामग्रीसहित पुग्ने किर्डाक नेपाल र रेडक्रस सोसाइटीलाई धन्यवाद दिनुभयो । किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले आफ्नो तर्फबाट पीडित परिवारलाई चिसोबाट बचाउन ब्लाङ्केट सहयोग भएको बताउनुभयो । 

रेडक्रसले त्रिपाल, र नगरपालिकाले तत्काल एक बोरा चामल लगाएत तत्काल खानाको व्यवस्था गरेको छ । नगर प्रमुख उपाध्यायले नगरको तर्फबाट चामल सहयोग भएको बताउनुभयो । उहाँले बाँकी सहयोग तत्काल गर्ने प्रतिक्रिया दिनुभयो ।

आगलागीबाट तीन घर पूरै जलेका छन् । नेपाली कांग्रेसका नेता मनराज शाहीको घरमा १३ परिवार बस्दै आएका थिए । चार तलाको घरमा १३ घर परिवार बस्थे भने अन्य घरमा पनि छुट्टाछुट्टै परिवार बस्दै आएकाले तीन घर जल्दा २६ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । 

घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेकवहादुर रावतले घर लामै भएकाले धेरै परिवार बसिरहेकाले सङ्ख्यामा तीन घर जलेपछि २६ परिवार विस्थापित भएको बताउनुभयो । 

आगलागीबाट नष्ट भएका तीन घरमा २६ परिवारका एक सय ५० जना परिवारका सदस्य आश्रित थिए । अहिले सबैको बास त्रिपालमुनि भएको छ । रेडक्रस कालीकोट शाखाका प्रतिनिधि धर्मराज शाहीले अग्निपीडितलाई सबैतिरबाट सहयोगको खाँचो रहेको बताउनुभयो ।