• २ कात्तिक २०८१, शुक्रबार

सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय डलरभन्दा माथि

blog

हङकङ, कात्तिक २ गते । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बिच व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो ।

सुन प्रारम्भिक एसियाली व्यापारमा शुक्रबार दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो । बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो ।

इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो ।

केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वाभाविक मानिएको छ । रासस/एएफपी