• २ कात्तिक २०८१, शुक्रबार

मार्सी धान काट्न किसान व्यस्त

blog

जुम्लाको श्रीढुस्काको ज्युलोमा मार्सी धान काट्दै किसान ।

जुम्ला समाचारदाता

जुम्ला, कात्तिक २ गते । दसैँ सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो सुरु भएको छ । जुम्लाका किसान मार्सी धान, सिमी भित्र्याउने काममा व्यस्त हुन थालेका छन् । पाकिसकेको धान समयमा नकाटेपछि झर्ने र गाईवस्तुले खाने डरले किसान अहिले खेतबारीमा भेटिन थालेका छन् । 

खलङ्गाको छिनासिम, देपालगाउँ, विमानस्थल क्षेत्र, श्रीढुस्का, घरतलीसहित सिँजा क्षेत्रका ज्युलोमा धान काट्ने काम सुरु भएको छ । त्यसै गरी चन्दननाथ नगरपालिकाको १,२,३,९ र १० वडामा समेत किसान धान काटिरहेका छन् ।  

तिला गाउँपालिका–४, सापुल्ली गाउँका किसान वीरबहादुर सिंहले धान काट्न सुरु भएको जानकारी दिनुभयो । यता गुठीचौर गाउँपालिका–५, देपालगाउँका किसान रञ्जना भण्डारीले देपालगाउँ, झारज्वाला क्षेत्रमा समेत धान काट्न सुरु गरिएको जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले जिल्लाका अधिकांश स्थानमा मार्सी धान काट्न सुरु गरिएको जानकारी दिनुभयो । स्थानीय तहमा मार्सी धान के कस्तो अवस्थामा छ र उत्पादनको अवस्था नमुना लिनलाई प्राविधिक टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो ।  

जिल्ला कृषि विकास कार्यालयका अनुसार  आव २०८०।८१ मा जुम्ली मार्सी धान तीन हजार ३०० मेट्रिक टन उत्पादन भएको थियो । सूचना अधिकारी भण्डारीका अनुसार जसमध्ये दुई सय मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो ।