• २ कात्तिक २०८१, शुक्रबार

सडक मर्मत भएसँगै आवतजावत सहज

blog

पुनः कालोपत्रे भएको साँफे मार्तडी सडक अन्तर्गत बल्दे सडक ।

शेरबहादुर सार्की

बाजुरा, कात्तिक २ गते । बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ । 

यस सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय यहाँ चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडकमा भएको खाल्टाखुल्टी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य अगाडि बढाएपछि यहाँ चल्ने सवारीसाधनलाई आवतजावतमा सहजता आएको छ । बाजुराको इकडीगाडदेखि मार्तडीसम्मको झन्डै ४२ किलोमिटर सडक केही वर्ष पहिला कालोपत्रे भएको थियो तर समयमा स्तरोन्नति नहुँदा सडकको अवस्था कमजोर बनेको थियो । डिभिजन कार्यालयले त्यसमध्येको १६ किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गरेको जनाएको छ ।

अविरल वर्षाका कारण सडक बिग्रिँदै गएकाले त्यसलाई बलियो पार्ने गरी सडकलाई कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकमा भएको खाल्टाखुल्टीले आवतजावतमा समस्या हुँदै आएको थियो । अहिले सबै खाल्टाखुल्टी पुर्ने गरी कालेपत्रेको काम गरेपछि सहज भएको छ ।”

बार्जुगाडदेखि मार्तडीसम्मको झन्डै २७ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडकमा कालोपत्रे काम पूरा भएको गिरीले बताउनुभयो । साँफेमार्तडी सडक कालोपत्रे भएको झन्डै १० वर्षपछि अहिले पुनः त्यसलाई कालोपत्रे गर्ने काम भएको हो । सडकको बिचमा गएको पहिरोका कारण केही ठाउँमा अहिले पनि सवारीसाधन चलाउन निकै सास्ती हुँदै आएको छ । बुढीगङ्गा नगरपालिका–२, ताँप्री सेरा, अम्कोट, बल्देलगायतका अधिकांश ठाउँमा बर्सातमा गएको पहिरोले सडक भत्केको थियो । ती ठाउँमा कालोपत्रे गर्ने काम समयमा हुन नसक्दा यात्रीले कष्टकर यात्रा गर्दै आउनु परेको थियो । त्यस सडकखण्डमा हिउँदमा केही महिना गाडी चल्ने र बर्सातमा फेरि गाडी रोकिँदै आउने गरेका छन् । यस सडकको ल्याब परीक्षण गर्नका लागि सडक विभागको केन्द्रीय टोलीसमेत यो ठाउँमा पुगेको थियो ।

अविरल बर्सातका कारण साँफे मार्तडी सडकको बिचमा पर्ने बार्जुगाड ताँप्री सेरा बल्दे अम्कोट, पानीनाउँलालगायतका धेरै ठाउँको सडकमा पहिरो गएको छ । पहिरो पन्छ्याएर सडक मर्मत गर्न ठुलो बजेटको खाँचो छ । यसका लागि रकम नआएकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो कार्यालयमा प्रायः धेरै कार्यालय प्रमुख नै बस्न मान्दैनन् । उनीहरू केही दिनयता आउने र त्यसपछि तुरुन्तै अर्को ठाउँमा जाने गर्छन् । पाँच जना इन्जिनियरको कोटा भएको यहाँ अहिले म एक मात्र छु ।” गत वर्षमा साँफे–मार्तडी सडकको आवधिक मर्मतका लागि केही रकम आएकाले यतिबेला त्यो रकमले झन्डै १६ किलोमिटर त्यो सडकको आवधिक मर्मत गर्ने काम भएको प्रमुख देवकोटाले बताउनुभयो ।