• २ कात्तिक २०८१, शुक्रबार

फेवातालबाट दुई जनाको उद्धार

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, कात्तिक २ गते । कास्कीको पोखरा महानगरमा पर्ने फेवाताल बिचमा बिहीबार साँझ अलपत्र परेका दुई जनालाई उद्धार गरिएको छ । अचानक आएको हावाहुरीपछि काठको डुङ्गामा आफ्नो डुङ्गा अड्किएर अलपत्र पर्नुभएका रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ घर भएका २२ वर्षीय मनीष विश्वकर्मा र सोही ठाउँ बस्ने २२ वर्षीया प्रीति सुनारलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विशेष उद्धारकको टोलीले उहाँहरूको उद्धार गरेको हो । कालिक गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले तालको बिचमा सहयोगको याचना गरिरहेका दुई जनाको उद्धार गरिएको जानकारी दिनुभयो । 

“अचानक आएको हावाहुरीमा परी तालको बिचमा अत्तालिँदै सहयोग मागिरहेको थाहा पाउने बित्तिकै हाम्रो उद्धार टोली खटिएर उहाँहरूको उद्धार गरेको हो । बिहीबार दिउँसो पोखरामा अचानक ठुलो वर्षा भएको थियो । 

कास्कीको सबैभन्दा ठुलो ताल फेवाताल किनारमा सशस्त्र प्रहरी बलको उद्धार टोली छ भने नेपाली प्रहरीले पनि डुङ्गासहितको टोली राखेको छ ।