• १० मंसिर २०८१, सोमबार

आठ वर्षमा बन्यो गुल्मी–पर्वत जोड्ने पक्की पुल

blog

गुल्मी–पर्वत जोड्ने पक्की पुल ।

तम्घास समाचारदाता

तम्घास, कात्तिक २ गते । सम्झौता भएको आठ वर्षमा गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माणको कार्य सम्पन्न भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा आठ वर्षको समय अवधिमा पुल सम्पन्न भएको हो । तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँबिच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँमा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।

पछि सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजना हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वयन हुने गरी दायित्व हस्तान्तरण भएको हो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समयपछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधन अनुसार २०८१ साल असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको थियो । पुल सम्पन्न भए पनि निर्माण व्यवसायीले चार करोड भुक्तानी लिन बाँकी रहेको छ । 

निर्माण व्यवसायीका साइड इन्चार्ज अचुत लम्सालका अनुसार चार करोड भुक्तानी दिन बाँकी रहेको र समयमै भुक्तानी नपाउँदा समस्या भएको बताउनुभयो । राज्यले समयमै भुक्तानी नदिँदा कामदार र निर्माण सामग्रीको भुक्तानी दिन नपाएको उहाँको भनाइ छ । भूगोलका कारण निर्माण सामग्री निर्माण स्थलसम्म लैजान पनि समस्या भएको बताउँदै कालीगण्डकी नदिको बहाव बढ्ने भएकाले वर्षको तीन महिना पनि काम गर्न नसकिएको उहाँको भनाइ छ । पहिले कोभिड र निर्माण सामग्रीको अभावका कारण पुल निर्माणमा समस्या भएको लम्सालले बताउनुभयो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले रकम अभावका कारण भुक्तानी दिन नसकिएको बताउनुभयो ।