• २ कात्तिक २०८१, शुक्रबार

बिक्नै छाडे सारङ्गी, गन्धर्व समुदायको पहिचान सङ्कटमा

blog

सारङ्गी बनाउँदै डाइबर गन्धर्व ।

लीलाधर वली 

घोराही, कात्तिक २ गते । कुनै बेला गाउँका अधिकांश गन्धर्व समुदायले सारङ्गी बजाउँथे । त्यही सारङ्गीका भरमा विभिन्न गाउँमा पुगेर गीत गाउँथे र परिवारको जीविका चलाउँथे । अहिले त्यो समय हराउँदै गएको छ । गाउँमा सारङ्गी बजाउने र गीत गाउने गन्धर्व घट्दै गएका छन् । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति खासै रुचि देखिँदैन । केही युवाले चासो दिने र बजाउने गरे पनि ती युवा काठमाडौँ जाने र दोहोरी साँझमा सारङ्गी बजाउँदै जीविका चलाउने गर्दै आएका छन् । गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्री गर्नै समस्या भइरहेको घोराही उपमहानगरपालिका–११, नयाँ बस्ती निवासी डाइबर गन्धर्व बताउनुहुन्छ । 

करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आउनुभएका डाइबर गन्धर्व पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताउनुहुन्छ । सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्रीसमेत हुन छोडेको भन्दै उहाँले भन्नुभयो, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो तर अहिले सारङ्गी बिक्नै छोडिसकेको छ । बनाउने काम मात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्रै भएको छ ।” उहाँका अनुसार समय परिवर्तनसँगै गन्धर्वले गीत गाउन र सारङ्गी बजाउन छोड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ । पहिले जस्तै सबैले गीत गाउने र सारङ्गी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारङ्गी बजाउन जान्ने सीमित मानिस मात्रै रहेका छन् । उहाँले भन्नुभयो, “गाउँमा सारङ्गी बजाउने कोही भए पो बनाएका सारङ्गी बिक्थे । अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन् । बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन ।” पहिले महिनामा सात/आठ वटा सारङ्गी बिक्री हुने गरे पनि अहिले दुई/तीन वटा जति मात्र बिक्री हुने गरेको उहाँको भनाइ छ । 

कला र काठको अभाव

सारङ्गी बनाउने कला मात्रै सङ्कटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि समस्या छ । सारङ्गी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी काठ पाउनै समस्या भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो मौलिक बाजा बनाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठ मात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।”

सामुदायिक वनका कारणले जङ्गलमा जान नपाइने र चिनेका काठ उद्योगबाट खमारी काठ ल्याएर सारङ्गी बनाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार सानो साइजका सारङ्गी चारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् भने ठुला र आकर्षक डिजाइनका सारङ्गी नौ हजारदेखि १० हजारसम्मको मूल्यमा बिक्री हुने गरेका छन् । पछिल्लो समय केही गन्धर्व समुदायसँगै विद्यालय, सङ्गीत प्रशिक्षण केन्द्रसँगै नेपाली मौलिक बाजालाई माया गर्नेले किन्ने गरेका छन् । गन्धर्व समुदायको पहिचानसँग जोडिएको बाजा संरक्षणका लागि ध्यान नदिने हो भने कुनै पेसा र संस्कृति हराउने खतरा रहेको सोही ठाउँ निवासी पूर्णबहादुर गन्धर्व बताउनुहुन्छ ।