• २ कात्तिक २०८१, शुक्रबार

महिला साफ : नेपाललाई भुटानसँग अपराजित रहने चुनौती

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक २ गते । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज (शुक्रबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यसअघिका हरेक संस्करणमा भुटानमाथि हावी बन्दै आएको नेपाल तुलनात्मक रुपमा बलियो रहेको छ ।

यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो ।

सन् २०१४ को तेस्रो संस्करणमा नेपालले भुटानलाई ८-०, सन् २०१६ को चौथो संस्करणमा ८-०, सन् २०१९ को पाँचौँ संस्करणमा ३-० र सन् २०२२ को छैटौँ संस्करणमा ४-० ले हराएको नेपाललाई अपराजित शाख जोगाउने चुनौती पनि छ ।

पछिल्लो समय भुटानले फुटबल खेलमा राम्रो लगानी गरेकोले भुटानपनि नेपाललाई कडा टक्कर दिने लक्ष्यमा छ । नेपालका प्रशिक्षक राजेन्द्र तामाङले भुटान पछिल्लो समय राम्रो भएकोले सजग भएर खेल्ने बताउनुभयो ।

‘‘नेपालको एउटै लक्ष्य उपाधि हो । हरेक पटक फाइनलमा पराजित भएको तितो क्षणलाई यस पटक बिर्साउने योजनामा छौँ । टिमको रूपमा जस्मा १५ दिन तयारी गरेका छौँ । तर पनि टोलीमा अनुभवी खेलाडी भएकोले हरेक खेल जितका लागि खेल्नेछौँ,’’ तामाङले भन्नुभयो ।

भुटानकी मुख्य प्रशिक्षक निकोला डेमाइनले नेपालसँग खेल्दा दबाब नहुने बताउनुभयो । ‘‘मैदानमा हाम्रो प्रयास जितका लागि हुनेछ । घरेलु मैदानमा जित्ने दबाब घरेलु टिमलाई नै हुन्छ । नेपाल बलियो छ, तरपनि हामी राम्रो फुटबल खेल्दै नजिता निकाल्न चाहन्छौँ,’’ अष्ट्रेलियन मुलकी प्रशिक्षक निकोलाले भन्नुभयो । 

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेका छन् । बिहीबार भएको समूह ‘ए’ को पहिलो एवं उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको थियो ।