• २ कात्तिक २०८१, शुक्रबार

तालवाराही मन्दिर पुनर्निर्माण

blog

फेवातालको मध्यभागमा रहेको तालवाराही मन्दिर पुनर्निर्माण गरिँदै ।

कास्की समाचारदाता

कास्की, कात्तिक २ गते । फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालवाराही मन्दिरको पुनर्निर्माण भइरहेको छ । २०७२ सालको भूकम्पले तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि पुनर्निर्माण गर्न लागिएको हो । 

तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिले गत फागुनदेखि पुनर्निर्माण सुरु गरेको हो । समितिका सचिव धुव्र बरालले अबको डेढ वर्षभित्र मन्दिरको निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो । पोखरा महानगरपालिका–६, बैदामस्थित मन्दिर निर्माणका लागि अहिले भक्तपुर जिल्लाबाट कालिगड ल्याएर झ्याल ढोकाका बुट्टा भर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

मन्दिर पुनर्निर्माणसँगै भक्तजनका लागि पनि नियमित पूजा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ । मूल ढोका स्थापना गरेर घटस्थापनादेखि शिव पाठ सम्पन्न पनि भएको छ ।” उहाँका अनुसार मन्दिर निर्माणका लागि अब ढुङ्गा जडान सुरु हुने छ । पुरानै शैलीमा पुनर्निर्माणको थालनी गरिएको वाराही मन्दिर करिब तीन करोड लागतमा सम्पन्न गरिने लक्ष्य लिएको बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरातत्व विभागबाट छ लाख रुपियाँभन्दा बढी आएको छैन । अन्य कुनै निकायबाट पनि सहयोग प्राप्त नहुँदा गाह्रो हुँदो रहेछ । मन्दिर दर्शन गर्न आउने भक्तजन, आमा समूहबाट उठेको रकमबाट काम भइरहेको छ ।” 

मूल मन्दिर एक वर्षभित्र र सभा हल, शौचालय, गार्डेन, हवनस्थल, स्टोर कक्ष, पानीको फोहोरा, ढुङ्गेधारा, डुङ्गाघाट गुरू योजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीन कालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यही मन्दिर स्थापना गरी वाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्ती अनुसार तालको बिचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । 

तालवाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूप जस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभई तालवाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।