• २ कात्तिक २०८१, शुक्रबार

टी-२० महिला विश्वकप : दक्षिण अफ्रिका फाइनलमा

blog

जितपछि दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : क्रिकेट दक्षिण अफ्रिका

काठमाडौँ, कात्तिक २ गते । दक्षिण अफ्रिका आइसिसी टी-२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । 

जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा एनेक बोशले अविजित ७४ रन बनाउनुभयो ।

यस्तै लौरा वोल्भार्डले अविजित ४२ र ताजमिन ब्रिट्सले १५ रन जोड्नुभयो । बलिङमा अस्ट्रेलियाकी अन्नाबेल सदरल्यान्डले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । 

अस्ट्रेलियाको लागि बेथ मुनीले सर्वाधिक ४४ रन बनाउनुभयो । एलेस पेरीले ३१, तहलिया म्याकग्राथले २७ र फोबे लिचफिल्डले १६ रन जोड्नुभयो ।

बलिङमा दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले दुई विकेट लिनुभयो । ननकुलुलेको मलाबाले र मरिजान कापले एक एक विकेट झार्नुभयो ।

फाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ । फाइनल आइतबार खेलिनेछ । एजेन्सी