• १ कात्तिक २०८१, बिहिबार

दसैँको समयमा नाकाबाट ४५ को उद्धार

blog

नेपालगन्जस्थित नेपाल भारत सिमा क्षेत्रस्थित जमुनाह नाका । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कार्तिक १ गते । बाँकेको नेपालगन्जस्थित नेपाल र भारत सिमानाका जमुनाहबाट दसैँको समयमा जोखिमपूर्ण यात्रामा रहेका ४५ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।

माइती नेपाल नेपालगन्ज कार्यालयका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रा गर्दै भारततर्फ जाँदै गरेको अवस्थामा तीन जना बालक, १७ जना १८ वर्ष मुनिका बालिका र २५ जना १८ वर्ष माथिका महिला गरी असोज महिनामा ४५ जना नेपाली नागरिकको जमुनाहबाट उद्धार गरिएको बताउनुभयो ।

“असोज महिनामा हामीले जमुनाह नाकाबाट तीन जना बालक १७ जना १८ वर्ष मुनिका बालिका र २५ जना १८ वर्षमाथिका महिलालाई उद्धार गरेका छौं, उहाँहरु जोखिमपूर्ण यात्रा गर्दै भारततर्फ जाँदै हुनुहुन्थ्यो” संयोजक कोइरालाले भन्नुभयो, “उद्धार गरेका सबैलाई हाम्रो सेल्टरमा राख्यौं, काउन्सिलिङ गरेका छौं र उहाँहरुका अभिभावकलाई बोलाएर अभिभावकलाई समेत काउन्सिलिङ गरी जिम्मा लगाएर पारिवारिक मिलान गराइदियौं ।”

असोज महिनामा खोजतलास तथा उद्धार गर्न कार्यालयमा ४९ वटा निवेदन प्राप्त भएको संयोजक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार खोजतलास तथा उद्धारका लागि १२ जना बालिका, पाँच जना बालक र ३२ जना १८ वर्षमाथिका महिला गरी ४९ जनाको निवेदन प्राप्त भएको छ ।

४९ जनामध्ये आठ जनालाई फेला पारेर सम्बन्धित अभिभावकलाई बुझाइएको संयोजक कोइरालाले बताउनुभयो । “असोज महिनामा खोजतलास तथा उद्धारका लागि ४९ वटा निवेदन प्राप्त भएको थियो, जसमध्ये पाँच जना बालिका, एक जना बालक र दुई जना महिलालाई उद्धार गरेर सम्बन्धित अभिभावकलाई जिम्मा लगाएका छौं” कोइरालाले भन्नुभयो ।

दसैँको घटस्थापनादेखि असोज ३० गतेसम्म मात्र जमुनाह नाकाबाट १० जनाको उद्धार गरेको उहाँले जानकारी दिनुभयो । “दसैँको घटस्थापनादेखि असोज ३० गते सम्ममा मात्र नाकाबाट ६ जना १८ वर्षमुनिका बालिका र चार जना १८ वर्षमाथिका महिला गरी १० जनाको उद्धार गरेका छौं” कोइरालाले भन्नुभयो ।

सोही समय अवधिमा १८ वर्ष मुनिका बालिका ६ जना, बालक एक जना र १८ वर्षमाथिका महिला १० जना गरी १७ जना नागरिकको खोजतालस तथा उद्धार गरिदिन भनि निवेदन प्राप्त भएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।

नेपालगन्जको जमुनाह नाका भएर बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, प्युठानलगायतका जिल्लाबाट जोखिमपूर्ण यात्रामा नेपाली नागरिकहरु भारततर्फ जाने गरेको तथ्याङ्क रहेको माइती नेपाल नेपालगन्ज कार्यालयले जनाएको छ ।