• १ कात्तिक २०८१, बिहिबार

बाँके राष्ट्रिय निकुञ्जमा आगन्तुक सूचना केन्द्र बन्ने

blog

बाँके राष्ट्रिय निकुञ्ज। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक १ गते । बाँके राष्ट्रिय निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर कोहलपुरमा आगन्तुक सूचना केन्द्र स्थापना हुने भएको छ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी उत्तमकुमार चौधरीका अनुसार निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना तथा जानकारी प्रदान गर्नका लागि करिब ७० लाखको लागतमा कोहलपुरमा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको हो। 

उहाँले यहाँ आउने आन्तरिक र विदेशी पर्यटकलाई निकुञ्ज अवलोकनका लागि सहज होस् भनेर निकुञ्जको पश्चिम सेक्टर कोहलपुरमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढ्ने बताउनुभयो। 

सूचना केन्द्रबाट बाँके राष्ट्रिय निकुञ्ज सम्बन्धी सम्पूर्ण जानकारी सहजै पाउन सकिने निकुञ्जले जनाएको छ। बाँके राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ४८० जना पर्यटकले भ्रमण गरेको सो निकुञ्जले जनाएको छ। निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ। दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो।

निकुञ्जमा बाघ, चितुवा, हात्ती, गैडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सर्प लगायतका जीवजन्तु अवलोकन गर्न सकिन्छ। 

निकुञ्जभित्र पर्यटकका लागि हात्ती सफारी, जिप सफारी, जंगल सफारी तथा पैदल यात्राको समेत व्यवस्था गरिएको छ। निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मँचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको छ।

बाँकेमा सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जनभन्दा बढी तारे होटलको सुविधा भएका कारण बाँके निकुञ्जको अवलोकनका लागि यहाँ पुग्ने पर्यटक बाघ लगायतका वन्यजन्तु अवलोकन गरेर रमाउँदै आएका छन्।