• ९ मंसिर २०८१, आइतबार

बालुवाटार बैठक : सर्च कमिटीलाई पूर्णता दिने विषयमा शीर्ष तीन दल सहमत

blog

बालुवाटारमा बसेको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेता ।

काठमाडौँ, कात्तिक १ गते। शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताको बैठकले सो सहमति गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेता सहभागी हुनुहुन्थ्यो। 

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो। 

छलफल शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा सम्बन्धित रहेको बताउनुभयो। उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शीर्ष तीन दलका नेता सहमत भएको उहाँको भनाइ छ।

उहाँले एक/दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुने बताउनुभयो। सर्च कमिटीले पूर्णता प्राप्त गरेको निश्चित समयभित्र आयोग गठन टुंगिनुपर्ने कानुनी व्यवस्थाअनुसार निर्धारित समयभित्रै आयोगले पूर्णता प्राप्त गर्ने बताउनुभयो। उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसक्ने आयोग गठन हुने विश्वास व्यक्त गर्नुभयो। शीर्ष दलका शीर्ष नेताको बैठकमा महान्याधिवक्ता रमेश बडालसमेत सहभागी हुनुहुन्थ्यो।