• २ कात्तिक २०८१, शुक्रबार

३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

blog

फाइल तस्बिर ।

अनिल पराजुली

हेटौँडा, कात्तिक १ गते । मकवानपुरमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छदेखि ५९ महिना उमेरसम्मका करिब ३२ हजार दुई सय बयालिस जना बालबालिका रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

२९ हजार एकसय बाइस जना बालबालिकालाई जुकाको औषधी पनि खुवाइने भएको छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १२ हजार ६६३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैछ भने ११ हजार ४५३ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ७८८ बालबालिकालाई भिटामिन ए क्याप्सुल र ७११ बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।

कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ४ सय ७२ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने भएको छ । जसमध्य हेटौँडा उपमहानगरपालिकामा ९२, मनहरी गाउँपालिकामा २१, राक्सिराङ गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ४२, भीमफेदी गाउँपालिकामा ४९, बागमती गाउँपालिकामा ३३, बकैया गाउँपालिकामा ६६, मकवानपुरगढी गाउँपालिकामा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ जना स्वयंसेविका परिचालन गरिनेछ । 

भिटामिन ए क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।