• ११ पुस २०८१, बिहिबार

दसैँसँगै सराय नाच समापन

blog

गणेश खनाल

अर्घाखाँची, कात्तिक १ गते । पश्चिम नेपालको प्रसिद्ध सराय नाच बिहीबारदेखि समापन गरिँदैछ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच पूर्णिमा मेला गरी समापन गर्न लागिएको हो । 

कोतघर र देवीका शक्तिपिठमा विशेष पूजाआजा गरी विधिवत् रूपमा सराय नाचको समापन गरिनेछ। जिल्लाका ऐतिहासिक कोतघर, दुर्गा र कालिका मन्दिरहरूमा दसैँसँगै सराय नाचको विशेष महत्त्व रहेको छ । दसैँको टीकाको भोलीपल्टदेखि पूर्णिमासम्म अर्घाखाँची,गुल्मी,पाल्पा लगायत लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सराय नाच नाच्ने प्रचलन रहेको छ । 

हजारौँको उपस्थितिमा अर्घा भगवती मन्दिरमा पूर्णिमाको अन्तिम दिन बिहीबार हल्सउल्लासका साथ सराय नाच नाचिएको छ । खुँडा, भाला, तरबार, लगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच नाचिन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ ।

बाइसे र चौबीसे राजा बस्ने समयदेखि दसैँको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैँलाई बिदा गर्ने परम्परा छ । अर्घाखाँचीका पूर्वी क्षेत्रका कोतहरू, अर्घा र भण्डारथुममा हुने सराय नाच यस क्षेत्रकै प्रख्यात सराय नाच हो । पूर्णिमाको दिन अर्घा र भण्डारथुममा सराय नाच्नेको ठुलो मेला नै लाग्ने गर्छन् ।

विजया दशमीको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका दिन अर्घामा सराय नाच गरी विजया दशमीलाई बिदाइ गर्ने प्रचलन रहेको छ । पूर्णिमा मेलामा अर्घामा, गुल्मी पाल्पा, प्युठान, कपिलवस्तु,रुपन्देही लगायतका जिल्ला तथा भारतबाट समेत एक लाख भन्दा बढी दर्शनार्थी उपस्थित हुने अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ । 

पश्चिम नेपालमै प्रख्यात रहेको सरायनाच र अर्घाको पूर्णिमा मेलाका बारेमा हिन्दु ग्रन्थ तथा विभिन्न पात्रोहरूमा समेत उल्लेख भएकाले पनि यसको महत्त्व बढी रहेको भुसालको भनाई रहेको छ ।

यस वर्ष पूर्णिमा तिथि दुई दिन परेकोले केही स्थानमा हिजो देखि सराय समाप्त भएको भए पनि अर्घामा भने आज सराय नाच गरी दशैको बिदाइ गरिनेछ।