• १ कात्तिक २०८१, बिहिबार

सुनकोशी बेलिबिज्र निर्माण अन्तिम चरणमा

blog

खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज निर्माण गरिँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

खुर्कोट (सिन्धुली), कात्तिक १ गते । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने पुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग (रामेछाप जिल्लातर्फको) हालैको अविरल वर्षापछि सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गतेदेखि बेलिब्रिज निर्माण (जडान) सुरु गरेको थियो । अब दुई दिनभित्र बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने सिन्धुलीको सदरमुकामस्थित नेपाली सेनाको भवानी बक्स गणले जनाएको छ ।

उक्त गणका गणपति बद्री कुँवरका अनुसार अब पुलमा टायर गुड्नेलगायतका केही ठाउँमा पाटपुर्जा हाल्ने र ठोकठाक गर्ने (फिनिसिङ्)काम बाँकी छ। अहिले त्यही काम भइरहेको छ । पुल बगेको रामेछापतर्फको भागमा बुधबार बेलुका बेलिब्रिजको बेस लगेर टेकाउने काम सकिएको छ ।

"मैले बुझ्दा शनिबारबाट गाडी चलाउन मिल्छ भनेका छन्," उहाँले भन्नुभयो, "१८० फिट लम्बाइको  बेलिब्रिज जडान गर्ने कार्य भइरहेको छ । नेपाली सेनाको प्राविधिक टोलीले द्रुतगतिमा काम गरिरहेको छ ।" उक्त प्राविधिक टोलीले दशैंको बेलामा समेत दुई दिन बिदा लिएर काम गरिरहेको भवानी बक्स गणले जनाएको छ । 

एसियाली विकास बैंकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोशी नदीमा दुई वटा स्पानको उक्त पुल आर्थिक वर्ष २०७१-०७२ मा निर्माण गरेको थियो ।

रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान सावित भएको स्थानीयले बताएका छन् । पुल बाढीले बगाएसँगै हालसम्म रामेछाप र दोलखा जिल्लाको खुर्कोटस्थित बीपी राजमार्गसँगको सम्पर्कविच्छेद भएको छ ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले खुर्कोटमा बेलिब्रिज निर्माणसँगै हिमाल, पहाड र तराईको सम्बन्ध जोडिएको बताउनुभयो । तराई र हिमाललाई छोटो दूरीमा जोड्ने बीपी राजमार्ग जोडिएको खुर्कोट पुल तराईका जिल्लाबाट रामेछाप र दोलखा जिल्लालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने एकमात्र नाका भएको गाउँपालिका अध्यक्ष बरालको भनाइ छ ।