• ३० असोज २०८१, बुधबार

नाबालिकालाई करणी गरेको आरोपमा पाँचजना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बाँके। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज ३० गते। बाँके प्रहरीले एक नाबालिकालाई दुई दिनसम्म होटलमा राखेर सामूहिक रुपमा करणी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ।

बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक आयूशप्रसाद जोशीले एक नाबालिकालाई दुई दिनसम्म होटलमा राखेर सामूहिक जबरजस्ती करणी गरेको आरोपमा बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया, सोही ठेगाना भएका डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्की र जीवन रोकायालाई पक्राउ गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार नाबालिकालाई कोहलपुर नगरपालिका वडा नम्बर ११ सुर्खेत रोडस्थित एक होटलमा असोज २७ र २८ गते दुई दिनसम्म राखेर उनीहरुले करणी गरेका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रनाउ जोशीले बताउनुभयो।

जबरजस्ती करणीमा परेकी नाबालिका अन्दाजी १२/१३ वर्षीया रहेको बाँके प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पाँचै जनाका बारेमा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको छ।