• ३० असोज २०८१, बुधबार

बोर्डिङ पास दिएको चार घण्टामा पनि नउडाएपछि...

blog

भरतपुर जान बुद्ध एयरमा चढेका यात्रु काठमाडौंमै जहाजबाट उत्रँदै ।

काठमाडौँ, असोज ३० गते । काठमाडौँबाट भरतपुर उड्न लागेको बुद्ध एयरले बोर्डिङ पास दिएको चार घण्टापछि पनि उडान नभएपछि यात्रुहरु अलपत्र परेका छन् ।

विदेशबाट दसैँको टीका तथा आशीर्वाद थाप्न काठमाडौँ आएका कतिपय यात्रुले समयमै उडान हुन नसक्दा दसैँको टीका पनि छुटेको गुनासो गरेका छन् ।

यात्रु डा. भरत थापाले झण्डै पाँच घण्टा विमानस्थलमा राखिएको, विमानमा चढेपछि अब भरतपुरमा विमान अवतरण हुँदैन भनेर विमानबाट झर्न लगाइएको गुनासो गर्नुभयो । 

डा. थापाले भन्नुभयो, ‘‘बुधबार दिनको १२ः३० बजेको उडान भनेर हामी ११ बजे विमानस्थल पुगेका थियौं, करिब ४ बजे जहाजभित्र छिरेर बसेको केही समयपछि आधा घण्टा ढिला हुने जानकारी दिइयो र पछि एक्कासी एयर होस्टेजले विमान जान नसक्ने जानकारी गराए । जहाजमा यात्रु भरिएका थिए । समयमै जानकारी नदिँदा धेरै यात्रुको विचल्ली भएको छ, कोही जिम्मेवार देखिएनन् । यात्रुलाई सास्ती दिने काम राम्रो होइन ।’’


"चितवन जानलाई कतिको खर्च नभएको र काठमाडौँमा बस्न पनि समस्या रहेको गुनासो गर्ने यात्रु पनि थिए", उहाँले विमान नगएपछि यात्रुको पीडा सुनाउँदै भन्नुभयो । 

गोरखापत्रका चितवन समाचारदाता बसन्त पराजुलीसँग कुरा गर्दै भरतपुर विमानस्थलका प्रमुख दीपक विकले भन्नुभयो, ‘‘एचआर समय अनुसार उडान हुन्छ, त्यो भनेको उज्यालो समयमा गर्ने हो, सूर्य उदायदेखि अस्ताएसम्म अहिले भरतपुरमा हवाइजहाज अवतरण भइरहेको छ ।’’ 

भरतपुरमा रात्रिकालीन उडानको व्यवस्था छैन र बुद्ध एयर र श्री एयरलाइन्सले दैनिक सरदर दशवटा उडान गर्दै आएका छन् ।

बुद्ध एयरको कार्यालय, जावलाखेलले ‘ट्राफिक होल्ड’ का कारण डिले भएको बताएको छ । बोर्डिङ पास भएपछि पनि कयौं घण्टासम्म कुरेर फर्काइएका यात्रुलाई अब के गर्नुहुन्छ भन्ने जिज्ञासामा बुद्ध एयरको कार्यालयले यस विषयमा विस्तृत सूचना नआइसकेको प्रतिक्रिया दियो । 

“स्ट्याटसमा ट्राफिक होल्ड भनेर देखाइएक्को छ, डिले भएको रहेछ । यसबाहेक अरु हामीलाई केही पनि जानकारी भएन”, बुद्ध एयर कार्यालयका एक कर्मचारीले भने।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भरतपुरमा रातिमा ल्याण्ड गर्ने व्यवस्था नभएका कारण त्यसो भएको हुनसक्ने बताउनुभयो ।

शेर्पाले भन्नुभयो, “भरतपुरमा नाइट ल्याण्ड छैन । त्यो कारण हुन सक्छ । भरतपुरमा अलि समस्या छ ।”