• १३ पुस २०८१, शनिबार

भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ

blog

भाइको हत्या आरोपमा पक्राउ परेका दाजु पूर्ण ।

लीलाधर वली

घोराही, असोज ३० गते । दाङमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । बबई गाउँपालिका –४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको हो । 

पूर्णले छुरा प्रहार गरेर सहोदर भाइ २८ वर्षीय अनिल तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो । 

प्रहरी नायव उपरीक्षक ठकुरीका अनुसार असोज २९ गते बिहान ९ बजेतिर घरायासी विवादका क्रममा पूर्णले भाइ अनिलको पेटमा छुरा प्रहार गरेका थिए । 

घाइते अनिललाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो । अस्पताल ल्याइएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । 

सुरुमा सम्पत्ति माग्दै बिबाद झिकेर आँफैले आफैलाई चक्कु प्रहार गरेको भनिए पनि अनुसन्धानका क्रममा अनिलको मृत्यु दाजुको चक्कु प्रहारबाट भएको खुल्न आएको प्रहरी नायव उपरीक्षक ठकुरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सुरुमा आफैले चक्कु प्रहार गरेर मृत्यु भएको भन्ने थियो, मृतकका बाबु सोमार र दाजु पूर्णलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गर्दा दाजु पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको तथ्य खुल्न आएको छ ।’ 

बबई गाउँपालिका –४ हापुरे बजारस्थित डोल्मा होटेलभित्र पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको र झगडा सुनेर भित्र प्रबेश गरेका बुवा सोमारलाई पूर्णले भाइ आफैले पेटमा चक्कु प्रहार गरेको बताएका थिए ।

चक्कु प्रहारबाट भुइमा लडेका अचेत अवस्थाका अनिललाई उपचारका लागि अस्पताल ल्याएको थियो । बाबुमाथि भाइले गरेको दुब्र्यबहारका कारण आवेग र उत्तेजनामा आइ दाजुले भाइमाथि चक्कु प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ । 

पूर्ण बुवाआमा र बहिनीसँगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरी बस्दैआएका थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका –६ नयाँ गाउँमा बस्ने अनिल दसैंको समयमा असोज २३ गते मात्र हापुरे आउनुभएको थियो ।