• ३० असोज २०८१, बुधबार

खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ३० गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा आयोजना गर्न लागिएको खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । 

आयोजक खेबाङ स्पोर्टिङ क्लबले आउँदा कात्तिक १० गतेदेखि आयोजना हुने खेबाङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

आयोजक क्लबका अध्यक्ष बिनम माबोकाअनुसार प्रतियोगिताको पहिलो दिन अर्थात् कात्तिक १० गते समूह ‘ए’ अन्तर्गत कोशी प्रदेश प्रहरी टोली विराटनगर र आयोजक खेवाङ स्पोर्टिङ क्लबबिच उद्घाटन खेल हुने छ । यस्तै कात्तिक ११ गते हुने दोस्रो खेल समूह ‘बी’अन्तर्गत तेल्लोक स्पोर्टिङ क्लब र लालीगुराँस स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुने छ ।

कात्तिक ११ गते नै अर्को खेल समूह ‘ए’ मा रहेको पाँचथरको कुम्मायक गाउँपालिका टोली र नैना कम्पनी प्रालि खेवाङबिच हुने छ । कात्तिक १२ गते रेडस्टार क्लब झापा र पेदाङ स्पोर्टिङ क्लबबिच समूह चरणको अन्तिम खेल हुने आयोजकले जनाएको छ । सोही दिन पहिलो सेमिफाइनल खेल हुनेसमेत आयोजकले जनाएको छ । 

कात्तिक १३ गते दोस्रो सेमिफाइनल खेल हुने र सोही दिन मैत्रीपूर्ण खेलसमेत खेलाइने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल भने कात्तिक १५ गते हुनेगरी आयोजकले खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने भएको छ । 

 प्रतियोगिता विजेताले एक लाख ५१ हजार १११ रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले उपविजेताले एक लाख ११ हजार १११ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । यस पटक खेवाङ गोल्डकपको साताैँ संस्करण आयोजना गर्न लागिएको क्लबका अध्यक्ष माबोले जानकारी दिनुभयो ।