• ३० असोज २०८१, बुधबार

ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान

blog

अमर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिँदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ३०  गते । ६९ औँ नेपाल प्रहरीको स्थापना दिवस स्याङ्जामा ‘साइवर सुरक्षा आजको आवश्यकता’ मूल नारासहित मनाइएको छ । कार्यक्रममा ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिवसको शुभारम्भ गर्नुभयो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले प्रहरीले समुदायमा गरेको सेवाप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो । प्रहरी, राज्य र नागरिकबिचको मुख्य सम्पर्कको सूत्र भएको हुँदा निर्भीकतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न व्यावसायिक क्षमता प्रदर्शन गर्न र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन नेपालले आग्रह गर्नुभयो ।  

प्रहरीले घरको झैझगडालगायत जिल्लाभरी भए गरेका घटनाप्रति गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै स्याङ्जा प्रहरीले गर्ने अपराध अनुसन्धान हरेक कार्यक्षेत्रमा अब्बल रहेको नेपालले बताउनुभयो । 

कार्यक्रममा प्रहरी उपरीक्षक शालिग्राम शर्मा, प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्वप्रहरी नायब उपरीक्षक श्यामकृष्ण श्रेष्ठलगायतले शान्ति सुरक्षा प्रहरीका सकारात्मक काम भएको बताउनुभयो ।  

कार्यक्रममा स्याङ्जा जिल्ला घर भई कामको सिलसिलामा विभिन्न ठाउँमा वीरगति प्राप्त अमर प्रहरीका एघार परिवारलाई र ज्येष्ठ पूर्व प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

यस्तै, स्याङ्जा प्रहरीलाई कामकारबाहीमा र अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा निस्वार्थ सहयोग गर्ने र प्रहरी सङ्गठनभित्र रही उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

यस्तै, दिवसको सन्दर्भ पारेर विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय परिसर र मातहतका कार्यालय परिसरमा वृक्षरोपण तथा विभिन्न स्थानमा सरसफाइ गरिएको छ । यस्तै, कार्यालयले आन्तरिक रूपमा सञ्चालन गरेका खेल ब्याडमिन्टन, टेबलटेनिस प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।