• ३० असोज २०८१, बुधबार

बिपी राजमार्गको काभ्रे खण्डमा साँझदेखि बिहानसम्म सवारी चलाउन रोक

blog

फाइल तस्बिर ।

केदार तिमल्सिना 

बनेपा, असोज ३० गते । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलान्चोक क्षेत्रभित्रको सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गत धुलिखेल–भकुण्डेबेंसी–वर्षेखोला सडक खण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको हो । 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको काभ्रेपलान्चोक सडक खण्डमा खोलिएको ट्रयाकको मर्मत तथा सुधार कार्य भइरहेकोले तत्कालका लागि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको बताउनुभयो । “बाढीपहिरोका कारण काभ्रेपलान्चोकतर्फ बिपी राजमार्गको भकुन्डेदेखि वर्षेखोला खण्डमा करिब आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारी साधनका लागि मात्रै आवागमन खुलाइएको हो,” सिडिई योगेशले भन्नुभयो । 

उहाँले बाढीपहिरोबाट क्षतविक्षत भएको भकुण्डेबेंसी–चौकीडाँडादेखि वर्षेखोलासम्मको सडक खण्डमा ट्रयाक निर्माण भए पनि हाल ट्रयाकको मर्मत तथा सुधार गरी यात्रालाई थप सरल र सुरक्षित बनाउने कार्य भएकोले जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो जाने सम्भावना रहेकोले हालको लागि साँझको समयमा सडक बन्द गर्नुपरेको बताउनुभयो । 

“सडक बन्द नगर्दासम्म सवारीको चाप बढ्नुको साथै हामीलाई रातको समयमा सडक मर्मतको काम गर्न समस्या भएकोले छिटोभन्दा छिटो काम सक्नका साथै मर्मत सम्भारको क्रममा हुन सक्ने सम्भावित क्षति नहोस् भनेर सूचना नै जारी गरेर सडकमा यातायात सञ्चालनमा रोक लगाउनुपरेको हो,” सिडिई योगेशले थप्नुभयो । उहाँले आफूहरूले सडकको ट्रयाक खुलेसँगै साँझको समयमा सवारी सञ्चालन नगर्नका लागि आह्वान गरे पनि सवारी साधनहरूले अटेर गरेको बताउनुभयो ।