• ३० असोज २०८१, बुधबार

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

blog

बल अगाडि बढाउने प्रयास गर्दै लियोनल मेस्सी । तस्बिर : रोयटर्स

काठमाडौँ, असोज ३० गते । कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध सानदार जित निकालेको छ ।

घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोलले हरायो । एकपक्षीय खेलमा अर्जेन्टिनालाई जिताउन मेस्सीको ह्याट्रिकसँगै लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थियगो अल्माडाले एक एक गोल थप्नुभयो ।

अर्जेन्टिनाले पहिलो र दोस्रो हाफमा समान तीन तीन गोल गरेको थियो । मेस्सीले १९औँ, ८४औँ र ८६औँ मिनेटमा गोल गर्नुभएको हो । जितसँगै अर्जेन्टिना विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्षस्थानमा छ । १० खेल सकेको अर्जेन्टिनाले २२ अङ्क बनाएको छ । समान खेलबाट १९ अङ्क बनाएको कोलम्बिया दोस्रो स्थानमा छ । १२ अङ्क बनाएको बोलिभिया सातौँ स्थानमा छ ।

यस्तै अर्को छनोट खेलमा ब्राजिलले पेरुलाई ४–० गोलले हरायो । घरेलु मैदानमा ब्राजिललाई जिताउन राफिन्हाले दुई तथा आन्द्रेस परेरा र लुइस हेनरिकले एक एक गोल गर्नुभयो । जितसँगै १० खेलबाट १६ अङ्क बनाएको ब्राजिल चौथो स्थानमा छ । पराजित पेरु ६ अङ्कसहित नवौँ स्थानमा छ । एजेन्सी